सरकार अधिनायकवादतर्फ लागेको काङग्रेस नेता आचार्यको आरोप

इटहरी । नेपाली काङग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सुनसरीले  इटहरीमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले सरकार अधिनायकवादतर्फ लागेर मनपरी गर्न थालेको टिप्पणी गर्नुभयो ।

पार्टीको आन्तरिक सम्बन्ध सुदृढीकरण गर्न काङग्रेसले गरेको राष्ट्रिय जागरण अभियान आयोजना गरेको उहाँको भनाइ थियो । उहाँले पार्टीभित्रैका नेताबीच सम्बन्ध चिसो भएका कारण काङग्रेसले चुनावमा पराजित हुनुुपरेको स्पष्ट पार्नुभयो ।



कार्यक्रममा पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य सीताराम मेहताले अहिले सरकारले मिडिया विधेयक संसद्मा दर्ता गरेको र यसले पत्रकारमाथि समाचार सङकलन गर्ने कुरामा अंकुश लागाएको बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले पार्टी र नेपाल प्रेस युनियनबीचको सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा यसलाई अझै सुधार गरेर जाने बताउनुभयो । उहाँले काङग्रेसले गरेका कामको बारेमा प्रचार नगर्दा हारको सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्का, काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, नेतृ विमला ढकाल, महाधिवेशन प्रतिनिधि गीता श्रेष्ठलगायतकाले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार