विश्वकप क्रिकेटः आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आजको खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने भएको छ । लगातार तीन खेल हारेको दक्षिण अफ्रिकाले बनाएको एक अंक पनि पानीले खेल रद्द भएपछि पाएको हो । अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने उसलाई बाँकी सबै खेल जित्नुपर्ने दबाव छ ।

अफगानिस्तानसँग भिड्दा दक्षिण अफ्रिकाले जितको सुरुवात गर्न चाहन्छ । तर, शीर्ष स्थानका ब्याट्सम्यान र बलर नै नचल्दा दक्षिण अफ्रिका समस्यामा छ । हसिम अमला, क्विन्टन डि कक, फाप डुप्लेसिस, जेपी जुमिनी, डेभिड मिलर जस्ता ब्याट्सम्यान चल्न सकिरहेका छैनन् । लगातार हारको मुख्य कारण पनि यही हो । बलिङ पनि प्रभावकारी छैन । इमरान ताहिर, कागिसो रबडाजस्ता बलरमा जादुमयी प्रदर्शन देखिएको छैन ।



अफगानिस्ताको अवस्था पनि योभन्दा फरक छैन । तुलनात्मक रुपमा कमजोर मानिए पनि ठूला टिमलाई बेलाबेला चक्मा खुवाउने अफगानिस्तान योपटक त्यस्तो छैन । बलिङ ठीकठाक भए पनि ब्याटिङ चल्न नसक्दा जितिसकेको खेल पनि अफगानिस्तानले गुमाएको छ । शनिबार दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिँदा लगातार तीन खेल गुमाएको अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ । खेल शनिबार नेपाली समयानुसार साँझ ६ः१५ मा शुरु हुनेछ ।

सम्बन्धित समाचार