नवकान्तिपुर संवाददाता
काठमाडौं
काठमाडौं, १ असार । विश्वकप क्रिकेट अन्तगर्त आज (आइतबार) चर्चित दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । ओल्ड ट्राफोर्ड स्टेडियममा साँझ ३ः१५ बजे सुरु हुने यस खेलको प्रतीक्षा विश्वभरका क्रिकेट सर्मथकले गरेका छन् ।
विश्वकपमा भारत आफ्नो चौथो खेल खेल्दै छ । पाकिस्तानले पाँचौं खेल खेल्दैछ । यसअघि तीन खेल सकेको भारत अपराजित यात्रा कायम राख्ने अभियानमा छ । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो । भारत र न्युजिल्यान्डविरुद्धको खेल भने वर्षाका कारण रद्ध भएको थियो । भारतले तीन खेलबाट पाँच अंक बनाएको छ ।
यसैगरी पाकिस्तान पनि भारतलाई हराउन धेरै मिहिनेत गरिरहेको छ । तर, पाकिस्तान यसपटकको विश्वकपमा त्यति जम्न सकेको छैन । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्ध भएको थियो । चौथो खेलमा पाकिस्तान अस्ट्रेलियासँग ४१ रनले पराजित भएको थियो । पाकिस्तानले चार खेलबाट तीन अंक बनाएका छ ।
भारत र पाकिस्तान दुवै विश्वकप विजेता टोली हुन् । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएको भारतले सन् १९८३ र सन् २०११ मा दुई पटक विश्वकपको उपाधि जितिसकेको थियो । पाकिस्तानले सन् १९९२ मा उपाधि जितेको थियो । विश्वकपको उपाधि दाबेदार भारत उत्कृष्ट लयमा छ । भारतका प्रारम्भिक ब्याट्सम्यान र बलर बलियो देखिएका छन् । पाकिस्तानको बलियो पक्ष भनेको तीव्र गतिका बलर नै हो । यसअघि यी दुई टोलीबीच भएको विश्वकप भिडन्तमा पनि भारत बलियो छ । विश्वकपमा यसअघि भारत र पाकिस्तान ६ पटक खेलेका थिए । जसमा भारतले ६ वटै खेल जितेको थियो ।