अन्तर्विरोध अन्त्य भए कांग्रेस पहिलो दलः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पहिलो दल बन्नका लागि सबै किसिमका अन्तर्विरोधको अन्त्य हुन आवश्य रहेको बताएका छन्। नुवाकोटको लिखु गाउँपालिकाको चौघडामा शनिबार आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजाने र यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म सुदृढीकरण जरुरी रहेको जानकारी दिए।

आफ्ना नेता तथा कार्यकर्तालाई सच्चिएर जनताकामाझ जान सुझाब दिँदै उनले एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति सदाका लागि अन्त्य गरे कांग्रेस आगामी निर्वाचनमा पहिलो दल हुने दाबी गरे। सरकारले एकपछि अर्को विधेयक ल्याएर जनतालाई समस्या हुने काम मात्रै गरेको भन्दै उनले आफू खुसी निर्णय गर्न छाडेर जनताको पक्षमा काम गर्न सुझाव दिए । उनले सरकारले ल्याएको गुठी विधेयक र मिडिया काउन्सिल विधेयक संसदबाट कुनैपनि हालतमा पास हुन नदिने चेतावनी दिए।



बुढीगण्डकी जलविद्युत आयोजनाको काम नेपालले गर्नुपर्ने पक्षमा आफू रहेको र विदेशीलाई दिएर गलत काम गरेको देउवाले आरोप लगाए । अनियमितता, हत्या, हिंसा, बलात्कार घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसेको उनको उनले बताए।

सोही भेलालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दुई तिहाईको दम्भमा रहेका कारण वर्तमान सरकार प्रेस तथा स्वतन्त्र संस्थाहरूको अधिकारलाई खोस्ने पक्षमा क्रियाशील भएको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्रि डा प्रकाशशरण महतले सरकारले जनताको भन्दा पनि आफ्नो हितमा मात्रै केन्द्रीत भएको आरोप लगाए । मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको महतले बताए।

सम्बन्धित समाचार