नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन् । अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले भने-‘हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।’
नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आजको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको उनले जानकारी दिए ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने-‘हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।’
गुठी विधेयकका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भइसकेकाले जनताको इच्छा, भावना र हितविपरीत सरकारले कुनै पनि कुरा नगर्ने स्पष्ट पारे ।
उनले भने-‘जनतालाई सर्वोपरी देवता मान्ने, जनताको इच्छा, आकाङ्क्षा, हित र आदेशानुसार काम गर्ने जनउत्तरदायी सरकारले जनताको कुरा सुन्छ, जनताको हितमा काम गर्छ, कहीँकतै कमीकमजोरी देखियो भने त्यसलाई सच्याउने छ ।’ कतिपय ठाउँमा गुठीका नाममा जनता र गरीबमाथि शोषण भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, -‘मोही, बहाल, धार्मिक गुठी, सांस्कृतिक र परम्परासँग जोडिएका गुठीमा कहीँकतै धक्का परेको रहेछ भने सरकारले त्यसमा विचार गर्नेछ ।’
आबेग, उत्तेजना, द्वन्द्व, आन्दोलन गर्ने नभई नेपालको अबको समय भनेको संवाद, सहमति, सहकार्य र अग्रगमन भएको बताउँदै प्रधानमन्त्री ओलीले विरोधको भावनालाई उचालेर कहाँ पुग्छु भन्ने भावना नराख्न सबैलाई सुझाव दिए ।