नवकान्तिपुर संवाददाता
काठमाडौं
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले आपत्ति जनाएका छन् । विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल गरिएको हो ।
विपक्षी सांसदहरुले भने आफूहरु केहीबेरका लागि छलफल गर्न बाहिर जाँदा सत्ता पक्षले बजेट टेबल गरिसकेको आरोप लगाएका छन् । सत्ता पक्षले विपक्षी सांसदको अनुपस्थितिमै बजेट टेबल गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरुले आपत्ति जनाएका हुन् ।
आइतबार साँझ ६ बजे बजेट प्रस्तुती सकिएपछि आधा घण्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । यो समयमा विपक्षी दलका सांसदहरु बजेटबारे सामान्य छलफलका लागि आ–आफ्नो संसदीय दलको कार्यालयमा पुगेका थिए । निर्धारित आधा घण्टाको समय सकिएपछि पनि प्रतिपक्षी दलका सांसदहरु छलफलमै रहेका थिए । विपक्षी सांसदहरु निर्धारित समयमा नआएपछि तोकिएको समयमा बजेट टेबल गरिएको थियो ।
नेकपा सांसदहरुले यो अपमानको जवाफ माग्ने र ठोस जवाफ नआए संसद अवरुद्व गर्ने चेतावनीसमेत दिएका छन् ।