नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।
साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन छ ।
उनले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका हुन् ।
गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर सम्बन्धित पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए ।
प्रधानमन्त्रीले समसामयिक विषयमा संसदमा आफ्ना कुरा राख्ने नेकपाका एक नेताले बताए । गुठी विधेयक र मिडिया काउन्सिल विधेयकका बारेमा पनि प्रधानमन्त्रीले केही ठोस निर्णय लिन सक्ने बताईएको छ ।