चार वर्षमा पनि पूरा भएन कलङ्की–नागढुङ्गा सडक

गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ ।

कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन । ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् ।



१८ मिटर चौडा सडकको दुवैतर्फ दुईरदुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ । पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन ।

कलङ्की चोकदेखि तीन सय मिटर तलसम्म कालोपत्रे, पेटी तथा मेडियन निर्माण सबै बाँकी छ । ढुङ्गेअड्डादेखि नैकापसम्म पेटी क्षेत्र छुट्याएर कालोपत्रे गरिए पनि मेडियनको काम ढुङ्गेअड्डामा मात्र गरिएको छ ।

नैकापदेखि बल्खु खोलापुलसम्म साविककै सडक क्षेत्रफलमा कालोपत्रे गरिएको छ । सडकपेटी मेडियन निर्धारण हुनै सकेको छैन । बल्खुखोला पुलदेखि सतुङ्गलको बजारनजिक बागेश्वरी अस्पतालसम्म भने सडक करिब करिब तयारी अवस्थामा पुगेको छ । केही स्थानमा सडक पेटीलाई अन्तिम रूप दिनमात्र बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।

सम्बन्धित समाचार