क्लिन फिड आजको आवश्यकता

नेपालमा प्रसारण हुने टेलिभिजन च्यानलहरूबाट विदेशी कार्यक्रमहरू प्रसारण हुँदा विज्ञापनरहित सामाग्री मात्र प्रसारण हुने व्यवस्थालाई क्लिन फिड भनिन्छ । विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयकमा क्लिन फिडसम्बन्धी विषयले पनि प्रवेश पाएपछि संसदमा विचाराधिन अवस्थामा नै रहेको यस विधेयकका कारण अचानक सडक तातेको छ र यसका पक्ष वा विपक्षमा सामाजिक सञ्जालका भित्ताहरू पनि रङ्गिएका छन् । राष्ट्रिय बहसको विषय बनेको क्लिन फिड भनेको के हो, अन्तराष्ट्रिय अभ्यास कस्तो छ र यसले मुलुकमा पार्ने प्रभावका बारेमा विज्ञापन विषयमा विद्यावारिधी गर्ने पहिलो व्यक्तित्व प्राडा भोजराज अर्याल, क्लिन फिडका अभियन्ता तथा नेपाल विज्ञापन संघ आनका पूर्व अध्यक्ष श्री निर्मलराज पौडेल तथा वर्तमान आनका अध्यक्ष श्री रवीन्द्रकुमार रिजालज्यूसँग नवकान्तिपुर डटकम अनलाइन पोर्टलका सम्पादक एलपी पौड्यालले गरेको कुराकानीको सार–सङ्क्षेप ।

नेपालको मौलिक संस्कृति, संस्कार र सभ्यता जोगाउन पनि क्लिन फिड आवश्यक छ ।
– प्राडा भोजराज अर्याल

प्राडा भोजराज अर्याल


१) क्लिन फिड के हो ?
टेलिभिजन च्यानलहरूले विदेशी कार्यक्रमहरू प्रसारण गर्दा विज्ञापनरहित सामग्री मात्र प्रसारण गर्ने व्यवस्था नै क्लिन फिड हो । विश्वमा शुल्क तिरेर मात्र हेर्न पाउने सशुल्क च्यानल (Pay Channel) र पैसा नतिरी हेर्न पाउने निःशुल्क च्यालन (Free to Air)गरी दुई प्रकारले टेलिभिजन च्यानलहरू प्रसारण हुने व्यवस्था रहेको छ । निःशुल्क च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्ने गरेता पनि ग्राहकसँग शुल्क लिंदैनन् भने सशुल्क च्यानलहरूले विज्ञापनरहित प्रसारण गर्ने र ग्राहकसँग शुल्क लिन पाउने अन्तर्राष्ट्रिय अभ्यास छ ।

२) विदेशमा क्लिन फिडसम्बन्धी कस्तो व्यवस्था छ ? मानौं युरोप अमेरिकामा बस्ने कसैले टेलिभिजनमा हिन्दी च्यानल हेर्छ भने नेपालमा जस्तो उसले भारतीय विज्ञापनहरू हेर्न बाध्य हुनुपर्छ कि पर्दैन ?
अमेरिका, युरोपियन मुलुकहरू तथा दक्षिणपूर्वी एशियाली मुलुकहरूमा विज्ञापनसहित (Advertisment feed) प्रसारण गर्ने च्यानलहरूले ग्राहकबाट शुल्क लिन नपाउने तर विज्ञापनरहित (Clean feed) मा प्रसारण गर्ने च्यानलहरूले ग्राहकबाट मासिक शुल्क लिन पाउने व्यवस्था गरेको पाइन्छ । त्यसैले कुनै व्यक्तिले युरोप वा अमेरिका बसेर हिन्दी कार्यक्रम हेर्छ भने त्यहाँ प्रसारित हिन्दी कार्यक्रम विज्ञापनरहित नै हेर्न पाउने प्रबल सम्भावना रहन्छ । किनभने संसारभरका अधिकांश मुलुकहरूले आफ्नो देशको मौलिक संस्कृति, भाषा र राष्ट्रिय गरिमा बचाउन तथा स्थानीय सीप तथा सिर्जनालाई प्रोत्साहित गर्न विज्ञापनरहित रूपमा पात्र प्रसारण गर्न पाउने व्यवस्था लागु गरेका छन् ।

३) नेपाली टेलिभिजनहरूमा क्लिनफिड लागु गर्न सम्भव छ कि छैन ? यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा कति प्रभाव पार्छ ?
नेपालीहरूको घरघरमा हेरिने अधिकांश विदेशी च्यालनहरूमा निवार्ध रूपमा विदेशी विज्ञापनहरू पनि आउँछन् र नचाहेर पनि हामी तिनीहरूलाई हेर्न बाध्य हुन्छौं । यही कारणले नेपालमा पनि विज्ञापनरहित सामग्री प्रसारण गरिनुपर्छ भन्ने आवाज उठेको हो र क्लिन फिडको बहस सतहमा आएको हो । यस विषयले संसदमा पनि प्रवेश पाएको छ । विज्ञापन नियमन गर्ने सम्बन्धी विधेयकका रूपमा यो विधेयक संसदमा विचाराधिन अवस्थामा रहेको छ ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार अधिकांश देशहरूले आफ्नो देशमा प्रसारण हुने विदेशी च्यानलहरूलाई व्यवस्थित गर्नका लागि नीति नियम बनाएर नियमन गर्ने गर्दछन् । त्यही अभ्यासअनुसार नै नेपालमा पनि क्लिन फिडले लागु हुनुपर्छ भन्ने आवाज उठ्न थालेको हो । अनलाइनका माध्यमबाट गरिएको सर्वेमा पनि क्लिन फिडका पक्षमा आवाजहरू मुखरित भएको देखिएको छ । नेपालको मौलिक संस्कृति, संस्कार र सभ्यता जोगाउन तथा नेपाली विज्ञापन व्यवसायलाई थप बलियो बनाउन र राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन पनि नेपालमा क्लिन फिडको नीति आवश्यक देखिन्छ । भारतमा आधारित बहुर्रािष्ट्रिय कम्पनीका उत्पादनहरूको ठूलो बजार नेपाल पनि हो । ती कम्पनीहरूले आफ्ना उत्पादनका विज्ञापन भारतीय च्यानलहरूलाई दिंदा ती च्यानलहरूका माध्यमबाट ती विज्ञापनहरूले निर्वाध रूपमा नेपालमा प्रवेश पाउँदा नेपाल र नेपाली टेलिभिजनहरूले ठूलो धनराशि गुमाइरहनु परेको छ । यदि ती विज्ञापन सामग्रीहरू नेपालमा नै निर्माण गर्ने हो भने नेपाली श्रम, सीप र जनशक्तिको मात्र उपयोग हुनेछैन, नेपाली टेलिभिजनहरूलाई पनि आत्मनिर्भर हुन सघाउ पुग्ने देखिन्छ । त्यस्तो भएको अवस्थामा अहिले छ अरब साढे छ अरबको हाराहारी अनुमान गरिएको विज्ञापनको बजार १० अरबभन्दा माथि उक्लने आँकलन गर्न सकिन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलै फरक पार्ने निश्चित छ ।

४) स्वाभाविक छ, नेपालले क्लिन फिडको व्यवस्था लागु गर्यो भने त्यसले सर्वाधिक प्रभाव भारतीय उत्पादनलाई पार्छ । दुई छिमेकी देशका बीच यसले नयाँ द्वन्द्वको सिर्जना त गर्दैन ?

नेपाल एक सार्वभौम सम्पन्न मुलुक भएकोले आफ्नो मुलुकको हितमा नीति, नियम र कानून बनाउन र लागु गर्न स्वतन्त्र छ । नेपाल सरकारले क्लिन फिडसम्बन्धी नीति पहिले नै बनाएर लागु गरिसकेको भए आज यो विषय समस्या बनेर आउने थिएन । यो हरेक देशले अवलम्बन गर्ने कुरा हो । अमेरिका, युरोपियन मुलुकहरू, दक्षिण एसियाली मुलुकहरूदेखि हामै्र छिमेकी मुलुक पाकिस्थान र भुटानमा समेत आफ्नो मुलुकको हितमा कानून बनाएर त्यसलाई व्यवस्थित गरेका अवस्थामा नेपालले आफ्नो मुलुकको हितमा नीति नियम बनाउँदा कुनै छिमेकी मुलुकले मन दुखाउनुपर्ने अवस्था नै आउँदैन र आउनुहुँदैन पनि । केही खर्च बड्ने देखेर केही बहुराष्ट्रिय कम्पनीहरूलाई टाउको दुखाइको विषय बने पनि यो विस्तारै बानी लाग्नेछ ।

५) क्लिन फिड सिर्जनशीलतासँग पनि जोडिएको विषय हो । गुणस्तरीय विज्ञापन सामग्री निर्माणको अभावमा बहुराष्ट्रिय कम्पनीहरूमा विचलन त आउँदैन ?

विज्ञान र प्रविधिको विकासले संसारलाई धेरै सानो बनाइदिएको छ । संसारको कुनै कुनामा विकसित प्रविधि नेपालमा नआउने कुरै छैन । पछिल्लो समयमा नेपाली युवाहरूले पनि राम्रा राम्रा सिर्जनाहरू गरेर अन्तर्राष्ट्रिय रूपमा पुरस्कृत भइसकेको अवस्था विद्यमान छ । अतः राम्रो सिर्जनाका लागि बाहिरबाट सिर्जनशील जनशक्ति नल्याई गुणस्तरीय विज्ञापन सामग्री बन्न सक्तैन भन्ने होइन । एउटा निश्चित अवधिका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूलाई हायर गर्ने चलन त संसारभरि नै छ । अर्को कुरा, प्रतिस्पर्धा बड्दै गएपछि स्वाभाविक रूपमा गुणस्तरमा पनि सुधार आउँछ, यो विश्वव्यापि सत्य कुरा हो ।

हामीले विज्ञापनरहित रूपमा विदेशी च्यानल हेर्न पाउनुपर्छ ।
– निर्मलराज पौडेल (पूर्व अध्यक्ष, नेविसं, आन)

निर्मलराज पौडेल

क्लिन फिडका सम्बन्धमा हाम्रो स्पष्ठ मान्यता भनेको हामीले हेर्ने टेलिभिजन च्यानलहरू विज्ञापनरहित रूपमा नै हेर्न पाउनुपर्छ भन्ने हो । हामीले केवल टेलिभिजनहरूसँग पैसा तिरेर टेलिभिजन च्यानल हेछौं भने त्यो क्लिन फिड नै हुनुपर्छ । अर्थात्, जब शुल्क तिरेर टेलिभिजन हेरिरहेका छौं भने हामीले विज्ञापनरहित रूपमा हेर्न पाउनुपर्छ, नत्र यो उपभोक्तामाथि ठगी धन्दा हुन्छ । यो अन्तर्राष्ट्रिय मान्यता र अभ्यास पनि हो ।
क्लिन फिडसम्बन्धी मुद्दा म विगत १२-१३ वर्षदेखि उठाइरहेको छु । नेपालमा विज्ञापन बजार कसरी बढाउन सकिन्छ भनेर अध्ययन गर्दा र विदेश भ्रमण गरेर अनुभव गर्दा थाहा भयो कि यदि नेपालमा क्लिन फिड लागु गरियोे भने निश्चित रूपमा हाम्रो बजार विस्तार हुन्छ र यो सम्भव पनि छ । त्यसैले हामीले क्लिन फिडको औचित्य र आवश्यकताका बारेमा सरकारमा रहेका सरोकारवालाहरूलाई पटक पटक जानकारी पनि गरायौं । उनीहरू कन्विन्स पनि भए यस विषयलाई सम्बोधन गर्न धेरै समितिहरू पनि बनाइए तर सरकार परिवर्तन भइरहने अवस्थाका कारण यो विषय ओझेलमा परिरह्यो । नेपाल विज्ञापन संघ (आन) ले शुरूदेखि नै पहल गर्दे आएको हो । जतिबेला हामीले क्लिन फिडका बारेमा कुरा उठाइरहेका थियौं, त्यसबेला टेलिभिजन च्यानलहरू एनालग सिस्टममा थिए, अहिले ल च्यानलहरू डिजिटलाइज्ड भइसकेको अवस्था छ, जसले गर्दा क्लिन फिड लागु गर्न असजिलो हुने छैन ।

हाल सरकारले क्लिन फिडका सम्बन्धमा एउटा स्थिर नीति ल्याएर राष्ट्रिय हित र राजश्व वृद्धि हुने विषयमा उठाएको सकारात्मक कदमलाई हाम्रा केवल टेलिभिजनका साथीहरूले सकारात्मक रूपमा नलिनु चाहिँ त्यति ठीक कुरा हो जस्तो लाग्दैन मलाई । यसले सबै पक्षलाई फाइदा गर्छ । क्लिन फिडले विज्ञापनको बजारलाई विस्तार गर्ने कुरामा दुईमत नै छैन । यसले हाम्रो अहिलेको विज्ञापन बजारमा डबल त नभनौं, डेढी चाहिँ अवश्य बढाउँछ । प्राविधिक रूपमा अलिकति प्रक्रिया चाहिँ पूरा गर्नुपर्ने हुन्छ । दुई—चारवटा कुराहरूलाई समयसापेक्ष रूपमा परिवर्तन गर्ने हो भने अन्य केही असजिलो छैन ।

क्लिन फिडले विज्ञापनको बजार मात्र वृद्धि गराउँदैन, नेपाली टेलिभिजन च्यानलहरूलाई आत्मनिर्भर हुन पनि सघाउ पु¥याउँछ । अहिले सरकारले तोकेको न्युनतम पारिश्रमिक पनि दिन कठिन मानिरहेका मिडियाहरूले त्योभन्दा बढी सुविधा दिन सक्षम हुनेछन् । विज्ञापनको बजार बढ्ने वित्तिकै रोजगारमा पनि वृद्धि हुन्छ । राजश्वमा वृद्धि हुन्छ । टेलिभिजन च्यानलहरूबीच प्रतिस्पर्धा भई स्तरीय च्यानलहरू स्तरीय बन्न थाल्छन् । किनकि मल्टीनेशनल ब्राण्डका विज्ञापन बजाउन कन्टेन्ट पनि राम्रै चाहिन्छ । अतः टेलिभिजन च्यानलहरूबीच स्वस्थ प्रतिस्पर्धाको आरम्भ हुन्छ । अहिलेको अस्वस्थ प्रतिस्पर्धा बजार सानो भएका कारणले गर्दा हो । त्यसैले क्लिन फिडको व्यवस्थाले सबै पक्षलाई फाइदा नै पुग्छ ।

यो व्यापार होइन, राष्ट्रियताको सवाल हो ।
रवीन्द्रकुमार रिजाल  (अध्यक्ष, नेपाल विज्ञापन संघ, आन)

 

रवीन्द्रकुमार रिजाल

‘क्लिन फिड व्यापार होइन, राष्ट्रियताको विषय हो । आनले क्लिन फिडका कुरा व्यापार वृद्धिका लागि मात्र उठाएको हुँदै होइन । राष्ट्र र राष्ट्रियताका पक्षमा आनले विगत १३ वर्षदेखि यस विषयलाई उठाइरहेको छ । व्यापारकै कुरा गर्ने हो भने पनि क्लिन फिड लागु भएको अवस्थामा मुलुकमा दुई अरबभन्दा धेरैको व्यापार वृद्धि हुनेछ । दुई अरबकै हाराहारीमा मात्र व्यापार वृद्धि हुने हो भने पनि विज्ञापन एजेन्सीले पाउने भनेको ३० करोड मात्र हो, एक अरब ७० करोड त मिडियाहरूमा जाने हो । अतः आनले उठाइरहेको आवाज व्यापारका लागि भन्दा राष्ट्रियताका सवालमा हो । नेपालका ९९.९ प्रतिशत नागरिकहरूले पनि यही चाहेका छन् । अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै छ । अतः आनले क्लिन फिड कसैको पक्ष पोषण गर्न उठाइएको विषय नभएर राष्ट्रिय आवश्यकताको विषयलाई अभिव्यक्ति प्रदान गरेको मात्र हो ।’

सम्बन्धित समाचार