नवकान्तिपुर संवाददाता
काठमाडौं
मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनले पराजित गरेकाे छ । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन जाेडेकाेमा मलेसियाले ७ विकेट गुमाउँदै १६७ रन बनाउदै पराजित गरेकाे हो ।
पहिलो टि-२० मा ७ विकेटको जित निकालेको नेपालले दोश्रो टि-२० जिते यो नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज जित हुनेछ।
किनरारा ओभल मैदानमा टस जितेर ब्याटिंग गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार गरेको छ। टि-२० अन्तर्रराष्ट्रियमा नेपालको यो सर्वाधिक योगफल हो । यस अघि नेपालले सन् २०१४ टि-२० विश्वकपमा हंगकंगसंग १४९ रन बनाएको थियो।
ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।
नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १-१ विकेट हात पारे । यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।
रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए । छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।
टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने बिनोद पारस खड्का, सन्दिप जोरा र सुबास खकुरेल पछि चौथो ब्याट्सम्यान बनेका छन्। मात्र २५ बलमा अर्धशतक पुरा गर्दै बिनोद टि-२० अ. मा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान समेत बनेका छन्। मलेसियासंग अघिल्लो खेलमा पारस खड्काले ३५ बलमा अर्धशतक बनाएका थिए।
आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ ।
प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ ।