परिवर्तनको आरम्भ शीर्ष नेताबाट होस्

भन्ने गरिन्छ– संसार बदल्नु छ भने आरम्भ आफैंबाट गर्नुपर्छ । मुलुकको अवस्था बदल्नु छ भने परिवर्तनको आरम्भ नेतृत्वबाट हुनुपर्छ ।
नेपालमा परिवर्तनका कुरा धेरैले गरे तर त्यसको आरम्भ आफूबाट कसैले गरेनन् । परिवर्तनका कुरा गर्ने नेताहरू हिजो जहाँ जुन अवस्थामा थिए (आर्थिक रूपमा बाहेक) आज पनि त्यही अवस्थामा छन् । यदि कुनै नेताले परिवर्तनलाई वास्तविक रूपमा आत्मसात गर्ने हिम्मत गरेको भए आज ऊ महानेता वा राजनेता भइसक्थ्यो होला । जनताले उसलाई विश्वासको सगरमाथा मानिसक्थे होलान् तर नेपालको बिडम्बना, सबै नेता एउटै ड्याङको मुला सावित हुन पुगे ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुलुकले ठूलो आशा राखेको थियो । भारतले गरेको नाकाबन्दीको बेलादेखि प्रारम्भिक चरणको मन्त्रिमण्डल गठन गर्दासम्म उनको व्यक्तित्व यति माथि पुगिसकेको थियो कि अरू उनका समकालिकहरू लिलिपुटका लघु मानवझैं लाग्न थालेका थिए । उनको कार्यकालमा मुलुकले विकासको ठूलो फड्को मार्ने र उत्तरवर्ती शासकहरूका लागि पनि चुनौती हुने ठानिएको थियो । मुलुकले समृद्धिको एउटा मार्गचित्र पाउनेमा नेपाली जनता ढुक्क थिए । त्यसैताका एउटा टेलिभिजन अन्तर्वार्तामा सीपी मैनालीले ओलीका बारेमा दिएको विरोधाभाषपूर्ण अभिव्यक्तिलाई धेरैले मैनालीको कुण्ठा ठानेका थिए । तर न समयले मैनालीको अभिव्यक्तिलाई पूर्वाग्रही मात्र थियो भनेर सिद्ध गर्न सक्यो न ओलीले नै आफ्नो व्यक्तित्वलाई पृथक ढङ्गले उठाउन सके ।



कुनै बेला सबै परिस्थिति प्रधानमन्त्री ओलीका पक्षमा हुँदा पनि उनी मुलुकलाई समृद्धिको खाका दिनबाट चुके, आधुनिक नेपाललाई नयाँ गति दिनबाट चुके र उनी आफैं राजनेता हुने अवसरबाट चुके । उनले हास्य अभिनेताको भूमिका गरिरहँदा उनी साँच्चै समृद्ध नेपालको माइलस्टोन बन्नबाट चुके ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग पनि समयले लगाएको कालो दाग मेटेर नेपाली मनहरूमा आफ्नो दरिलो ठाउँ बनाउन पर्याप्त अवसर प्राप्त थियो । तर उनलाई पनि प्रचण्डको ह्याङओभरले छोडेन र उनी पनि राजनेता बन्ने अवसरबाट चुके । मुलुकको प्रधानमन्त्री भइसकको मान्छे आफ्नो हैसियत बिर्सेर ‘हेगमा पुर्याए हिरो बन्छु’ भन्नेजस्ता अपरिपक्व तर्क दिन थाले । यस्ता सस्ता अभिव्यक्तिहरूले उनको साइज घटाइदिएको छ । उनले पनि न दशवर्षे जनयुद्धको औचित्य पुष्टि गर्न सके न मुलुकलाई समृद्धिको मार्गचित्र दिन सके । आधारहीन परिवर्तनका कुरा त जो कोही पनि गर्न सक्छ । शीर्ष व्यक्तित्वले बोलेको कुरालाई व्यवहारबाट पुष्ट्याइँ गर्न सक्ने अवस्था छैन भने त्यस्तो अवस्थामा बरू मौन राजनीतिलाई श्रेष्ठकर मानिन्छ । एउटा सम्भावना त बनिरहन्छ ।

पटकपटक सत्तामा पुगेका र आफ्नो कार्यकालमा उल्लेखनीय कार्य केही गर्न नसकेका अर्का व्यक्तित्व हुन्–शेरबहादुर देउवा । उनले पनि पाएको अवसरलाई सदुपयोग गरेर आफूलाई अब्बल साबित गर्न सकेनन् । बीपीका उत्तराधिकारी भनेर मात्र के गर्नु र ? न पाटीको शीर्ष व्यक्तित्वका रूपमा न प्रतिपक्षी दलका नेताका रूपमा, उनलाई आदर्श मान्ने कुनै ठाउँ उनले पनि दिएनन् ।

गफ, कहानी तथा टुक्काको आफ्नै खालको महत्व होला तर गफले कहानीले तथा टुक्काले सभा–समारोह तथा भेलाहरूमा ताली खाने वातावरण बनाउन सकिएला तर यत्तिले मात्र जनतालाई दीर्घकालीन खुसी दिन सकिन्न, देशमा मुहार फेर्न सकिन्न । मुलुकमा परिवर्तन ल्याउन इतिहास मात्रै पनि ठूलो कुरा होइन रहेछ । क्रिकेटरको पृष्ठभूमि बोकेका इब्राहिम खानले छोटो समयमा पाकिस्थानमा जुन परिवर्तन ल्याइदिए, त्यसले दृढ इच्छाशक्ति र मुलुकका लागि केही गर्छु भन्ने भावना नेतृत्वमा हुने हो भने असम्भव केही छैन भन्ने नजीर खडा गरिदिए । उनले परिवर्तनको आरम्भ आफैंबाट आरम्भ गरे र दक्षिण एशियामा नमूना बने । खानबाट पनि नेपालको नेतृत्वले शिक्षा लिन सकेन ।

अर्को कटु सत्य के हो भने नेपालको विकास गर्न अन्य मुलुकबाट नेताहरू आयत गर्न सकिन्न । बिगारे पनि सपारे पनि नेपालकै नेताले हो । यस लेखको अभिप्राय पनि कुनै नेताको मानमर्दन गर्नु वा होच्याउनु होइन । क्षमता हरेक व्यक्तिको फरक फरक हुनसक्छ तर गन्तव्य सही र गति निश्चित भए जनविश्वास बढ्छ, साथ र सहयोग बढ्छ । हामी हाम्रा नेतालाई रोलमोडेलका रूपमा देख्न र मान्न चाहन्छौं तर उनीहरूले पनि आफूलाई योग्यताको कसीमा अब्बल सावित गर्न सक्नुपर्यो । देश र जनताप्रति इमान्दार देखिनुपर्यो र परिवर्तन आरम्भ आफैंबाट थालनी गर्नुपर्यो ।

हाम्रो शरीरका विभिन्न अङ्गहरूको आ–आफ्नो भूमिका हुन्छ र ती सबै अङ्गहरू स्वस्थ भए मात्र व्यक्ति स्वस्थ बन्छ । त्यसैगरी मुलुकमा पनि विभिन्न वर्गहरू हुन्छन् र ती सबै वर्गको आ–आफ्नो भूमिका हुन्छ । सबैले आ–आफ्नो ठाउँमा बसेर इमान्दारीपूर्वक काम गर्ने हो भने असम्भव केही छैन । मूल कुरा नियतको हो ।

वर्गहरूमध्ये पनि राजनीति गर्ने वर्ग सर्वाधिक शक्तिशाली हुन्छ । राजनीति वर्गलाई विशाल नदी मान्ने हो भने अरू वर्गहरू त्यसका शाखा प्रशाखा मात्र हुन् । कुनै शाखा प्रशाखा सफा हुँदैमा नदी सफा हुने होइन तर नदी सफा भयो भने सबै शाखा प्रशाखामा बग्ने पानी स्वतः सफा हुन्छ । त्यसैले नदीले आफ्ना शाखा प्रशाखाहरूतिर फर्केर सफा हुने उपदेश दिने होइन, पहिले आफैं सफा हुने हो । त्यसैले परिवर्तनका थालनी शीर्ष नेताहरूबाटै हुनुपर्छ, ओली, दाहाल र देउवाबाटै हुनुपर्छ । अन्यथा सुशासन र समृद्धिका कुरा पनि ‘जोक’मा परिणत हुने छन् ।

सम्बन्धित समाचार