कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात लाख जग्गाको कित्ताकाट भएको बताए ।
देशमा जमीनको खण्डिकरण बढ्दै गइरहेको भन्दै उनले कृषियोग्य जमीन मासेर घरको जङ्गलमा परिणत हुनु विडम्बना भएको बताए । ‘९० लाख मानिस सुकुम्वासी भनिएर अव्यवस्थित बसोवास गरिरहेका छन्, उनले भने’ “यसलाई व्यवस्थित गरिएन भने झन् भयावह स्थीति आउने देखिन्छ ।”
मन्त्री खनालले कृषिमा निराशा मात्र नभइ आशाका क्षेत्र पनि धेरै रहेको बताए । ‘पोल्ट्री क्षेत्र जस्तै अन्य कुरामा पनि आत्मनिर्भर हुन सकिन्छ,त्यसका लागि धेरै मेहनतको आवश्यकता छ’, उनले भने ।
विभिन्न क्षेत्रको तालमेल हुन नसक्दा सोचेअनुसार कृषि उत्पादन हुननसकेको उनको भनाइ छ । कृषिमा आधुनिकिकरण आवश्यक रहेको भन्दै मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषिको अनुदानका विषयमा पुनःमूल्याङ्कन हुनुपर्ने धारणा राखे ।
उनले सरकारले कृषिमा युवा कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी दिए । तराईमा एकसय बिघाहा र पहाडमा १०० रोपनी एकीकृत गरेर कृषिखेती गर्नेलाई सरकारले सिँचाई, मल, बीउ र उपकरण उपलब्ध गराउने योजना अघि बढाएको बताए ।