सेन्टी भाइरसमार्फत पर्दामा फर्कदै धुर्मुस–सुन्तली

पछिल्लो समय सामाजिक सेवामा सक्रिय रहेका सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चलचित्र सेन्टी भाइरस निर्माणको घोषण गरेका छन् । जनस्तरबाट सहयोग जुटाएरै चितवनमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका उनीहरूले चलचित्र निर्माणमा अगाडि सरेसँगै उनीहरूले लगानी कसरी गर्दैछन् भन्ने खालका प्रश्न पनि उठ्ने गरेका थिए । कतिपयले रंगशाला बनाउने रकमले चलचित्र बनाउन लागेको भन्दै टिप्पणी पनि गरिरहेका छन् । तर चलचित्र घोषण कार्यक्रममा धुर्मुस सुन्तलीले यस कुराको खण्डन गरेका छन् ।

कार्यक्रममा धुर्मुसले भने–‘धुर्मुस–सुन्तलीको चलचित्रमा लगानी के कसो भन्ने खबर पनि आएका थिए । तर, यो चलचित्र अर्कै मानिसको लगानीमा बन्दैछ । हामीले विगत १ वर्षदेखि चलचित्र निर्माण गर्ने तयारी गरेका थियौं । यो चलचित्रमा सम्पूर्ण लगानी डिन्डु लामाको हुनेछ ।’ चलचित्रले नाफा कमाएको खण्डमा २० प्रतिशत रकम सामाजिक सेवामा लगाउने उनीहरूको भनाई छ । जसमध्ये १५ प्रतिशत रकम गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने पनि बताइएको छ ।



बच्चैदेखि हिरोइन बन्न चाहन्थें : सुन्तली
कार्यक्रममा सुन्तलीले चलचित्र सेन्सी भाइरस बन्ने कुराले आफु उत्साहित भएको बताइन् । कात्तिकसम्म रंगशाला निर्माणमा समय दिन नपर्ने भएपछि यहीबीचमा चलचित्रलाई समय दिन लागिएको उनले सुनाइन् । चलचित्रमा आफ्नो भूमिका राम्रो भएको र निर्देशक रामबाबु गुरूङसँग काम गर्ने चाहना पनि पूरा हुन लागेको उनको भनाइ थियो । उनले भनिन् ‘म बच्चादेखिनै नायिकाहरूको नक्कल गर्ने, नाच्ने र चलचित्रका डाइलगहरू बेल्ने गर्दथें । मलाई आमा बुबाले पनि पछि गएर हिरोइन् बन्छे भनेर जिस्क्याउनुहुन्थ्यो । मेरो चाहना पनि हिरोइन बन्ने नै थियो । यो अवसर सेन्टी भाइरसले केही मात्रामा भए पनि पुरा गरिदिनेभयो ।’

रंगशाला निर्माणमा चलचित्रले असर गर्दैन : धुर्मुस
कार्यक्रममा धुर्मुसले चलचित्र निर्माणले रंगशाला निर्माण प्रक्रियामा कुनै असर नगर्ने बताए । रंगशालामा अबको दुई महिना समय दिन नपर्दे र यो अवधिमा चलचित्रको काम सकाइने उनले बताए । विभिन्न व्याक्तिहरूबाट रंगशाला निर्माणबाट पछि हटेर चलचित्र बनाउन लागेको भन्ने आरोप आएको र रंगशालाकै पैसाले चलचित्र निर्माण गर्न लागेको भन्ने आरोपको पनि उनले खण्डन गरे । उनले भने ‘चलचित्रका निर्माता डिन्डु लामा हुनुहुन्छ । उहाँ दुई वर्षअगाडि नै हामीसँग मिलेर चलचित्र बनाउन चाहनुहुन्थ्यो । उहाँले हाम्रो सामाजिक कामहरूमा पनि विभिन्न चरणमा आर्थिक सहयोग गर्नुभएकै थियो । चलचित्रमा पनि उहाले लगानी गर्ने भएपछि हामीहरूले निर्माणमा सघाउने वचन दिएका थियौं तर समय नमिलेर थन्किएको प्रोजेक्ट अहिले घोषण गरिएको हो ।’

कार्यक्रममा धुर्मुसले चलचित्र कलाकार संघको भवन निर्माणका लागि आफूहरू नेतृत्व लिन तयार भएको समेत बताए । कलाकार संघको कार्यसमितीले जिम्मा दिएको खण्डमा भवन निर्माणको नेतृत्व लिन तयार रहेको बताए । भवन निर्माणमा पनि चलचित्रको नाफाको ५ प्रतिशत रकम सहयोग गर्ने उनको भनाइ थियो ।

चलचित्रमा हास्य कलाकारहरूकै बाहुल्यता
चलचित्र ‘सेन्टी भाइरस’मा हास्य कलाकारहरूकै बाहुल्यता रहने भएको छ । चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । चलचित्रमा ‘धुर्मुस सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यङ्ग्यमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । रूपाकोट र पोखरामा छायाङ्कन हुने चलचित्रलाइ छायाँकार शैलेन्द्र डी. कार्कीले खिच्नेछन् । राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत रहने यो चलचित्रलाई निर्माणमा डिन्डु लामालाई फूर्पा लामाले सघाउनेछिन् ।

सम्बन्धित समाचार