आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा अत्याधिक घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार हो त्यसैले पनि होला पशुपतिनाथ, बसन्तपुरमा रहेको सानो पशुपति मन्दिरलगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।



हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि हरेक सोमबार ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो ब्रत समापन गर्दछन् ।

व्रत बसेका व्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल सौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा पनि लिइन्छ ।

सम्बन्धित समाचार