सरकार, तिमी कहिले ठेकेदारको भयौ, कहिले व्यापारीको भयौ र कहिले दलालको भयौ । तिमी कहिले छिमेकीको भयौ, कहिले कसैको हातको रिमोट भयौ । तिमीलाई आरोप छ, तिमी कहिल्यै जनताको हुन सकेनौ । सरकार, तिमी एकपल्ट सर्वसाधारण जनताको भएर हेर, प्रत्येक घरआँगनमा तिम्रो जयजयकार हुनेछ ।
सर्वसाधरण जनता भनेको त्यो वर्ग हो जसको कुनै निहीत स्वार्थ हुँदैन । आफ्नै मेहनत र पाखुरीमा भरपर्ने, पसिना बगाउन पाउँदा हर्षित हुने, कर्ममा विश्वास गर्ने तथा बेइमानको व्यञ्जनमा भन्दा इमानको गुन्द्रुकमा आनन्दित हुने वर्ग हो सर्वसाधारण वर्ग । उनीहरूलाई सरकारमा को छ, प्रतिपक्षमा को छ थाहा हुँदैन । विमान कसले खाए, प्रधानमन्त्री निवासको जग्गा कसले खाए, त्यो पनि थाहा हुँदैन । उनीहरूलाई जन्मिदै ३६ हजारको ऋण उनीहरूको टाउकोमा परेको पनि जानकारी हुँदैन । उनीहरूलाई त कसको आग्रहमा कसलाई मत दिएका थिए, त्यो पनि त्यति हेक्का हुँदैन ।
उनीहरूलाई त वल्लो गाउँबाट पल्लो गाउँमा जाँदा बीचमा आउने खोलामा पुल बनिदिए पुग्छ । उनीहरूलाई त सदरमुकाम जाने बाटो बनिदिए पुग्छ । उनीहरूलाई आफूले खुन–पसिना बगाएर उब्जाएको अन्न, फलफुल तथा तरकारीले सजिलै बजार पुग्नपाए पुग्छ । बिमारी हुँदा, सुत्केरी हुँदा अकालमा ज्यान गुमाउन नपरे पुग्छ । समृद्धिका अमूर्त कुरा के थाहा बिचरा उनीहरूलाई ? उनीहरूलाई त आफ्ना छोरी चेलीहरूले निर्मला पन्तको नियति भोग्नुनपरे पुग्छ । के तिमीबाट यत्ति कुराको अपेक्षा गर्ने अधिकार पनि छैन उनीहरूसँग ?
दूर–दराजका जनताले तिर्खाएर काकाकुल बनेको बेला धित मरूञ्जेल पानी पिउन पाए हुन्थ्यो भनेर सरकारको मुख हेर्नु, आफूले किनेर खाने फलफूल र तरकारी विषादिरहित भए हुन्थ्यो भन्ने अपेक्षा गर्नु, बिहान स्कुल वा काममा घरबाट निस्केका छोरीहरू सकुसल बेलुका घर फर्कन पाउने वातावरण बने हुन्थ्यो भनेर आशा गर्नु तथा आ–आफ्नो व्यवसाय गर्दा कसैको डर वा त्रास व्यहोर्नु नपरे हुन्थ्यो भन्ने ठान्नु उनीहरूको नैसर्गिक अधिकार होइन ? आफूले खाइ–नखाई पनि कर तिरेको सरकारबाट शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भए हुन्थ्यो भन्ने ठान्नु उनीहरूको अपराध हो र ?
अपराध भए उनीहरूका सरल आँखाले पुराना राजा र नयाँ राजाहरूबीचको भेद छुट्याउन नसक्नुमा होला । प्रायोजित रूपमा किनिएका मालाले छोपिएको तिम्रो अनुहार नचिनेर कुनै सामन्त शासक र तिमीबीचको अन्तर पर्गेल्न नसक्नुमा होला । उनीहरू दोषी भए चुनावमा हराउनुपर्नेलाई जिताएकोमा र जिताउनुपर्नेलाई हार्न बाध्य पारेकोमा होला, उनीहरूलाई पछुतो भएको भए काग र कोइलीलाई नचिनेर एउटै मान्ने दृष्टि भ्रम भएकोमा होला । त्यो भन्दा ठूलो अपराध त के गरे र उनीहरूले ?
सरकार, बरू तिमी तिम्रै अघिपछि हिड्नेहरूबाट लुटिएका छौ, तिम्रै सल्लाहकारबाट ठगिएका छौ र उनीहरूको गलत व्यवहारको साक्षी बनेर तिमी पनि दूषित बनेका छौ । सबैले बुझेको कुरा हो, सरकार त सबैतिर टहटह लाग्ने घामजस्तै साझा हुनुपर्ने, तिमी त सर्वसाधारण जनताको थोरै र स्वार्थी समूहको धेरै भएका छौ । तिमी साझा हुन सकेनौ, समयले लगाएको यो आरोपबाट तिमीले मुक्त हुन जरूरी छ ।
राष्ट्रपति संस्था हो, प्रधानमन्त्री संस्था हो र सरकार पनि संस्था हो । व्यक्ति त त्यसको एउटा अल्पकालिन प्रतिनिधि पात्र मात्र हो । हिजो अरू कोही थियो, आज तिमी छौ र भोलि अरू नै कोही हुन सक्नेछ । तिमी हिजोका भन्दा फरक हौ भन्ने कुरा तिम्रो व्यवहारले प्रमाणित गर्नुपर्ने हो । जनताले त शासक हेर्ने होइन शासन हेर्ने हो, तिम्रो बेसुरे अलाप सुन्ने होइन, तिमीले कति सिन्का भाँच्यौ भनेर गन्ने हो र भावी पुस्तालाई तिमी कस्तो संस्कार सिकाउँदैछौ भनेर हेर्ने हो ।
प्रतिनिधि पात्रको आयु चुनावले मात्र होइन, उसले गर्ने व्यवहारले निर्धारण गर्ने हो । तिमीले सर्वसाधारणको मनमा आफ्नो स्थान सुरक्षित बनाउन सकेनौ भने त्यो तिम्रा लागि मात्र होइन, मुलुकका लागि पनि प्रत्युत्पादक बन्न सक्नेछ । त्यसैले यस्तो सम्मानित संस्थाको प्रतिनिधि पात्र भएको नाताले तिमीले एउटा आग्रही वा पूर्वाग्रही मान्छेजस्तो मात्र भएर सोच्नु र बोल्नु राम्रो होइन । बरू तिमीले हिजो जनताका बीचमा उभिएर दिएको वचनको स्मरण गर र आजसम्म जनताका पक्षमा तिमीले गरेका कामको निर्मम समीक्षा गरेर हेर । हेक्का राख सरकार, तिमी धेरैको भइसक्यौ, अब एकपल्ट आम जनताको पनि भएर हेर ।