

नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको देखिन्छ। विगत केही महिनादेखि देशमा व्यापक असन्तोष फैलिरहेको छ, शब्दमा भन्दा सडकमा देखिने गरी। आन्दोलनहरू, बन्दहरू र विभिन्न राजनीतिक शक्तिहरूको सक्रियतासँगै जनताको निराशा र आक्रोश अब खुला रूपमा अभिव्यक्त हुन थालेको छ। यो सबैको केन्द्रबिन्दुमा छन्- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली।
ओलीको राजनीतिक जीवन सधैं वादविवादले भरिएको रह्यो तर पछिल्ला दिनहरूमा उनले देखाएको अडान, अभिव्यक्ति र व्यवहारलाई केवल “सशक्त नेतृत्व” को नाममा जायज ठहर गर्न सकिँदैन। बरु, यो घमण्ड, हठ र संवैधानिक संयमको उल्लंघनको पराकाष्ठा सावित हुँदैछ। नीति र योजनाभन्दा पनि व्यक्तिगत प्रतिष्ठा र सत्ताको लिप्सामा रमाउने ओलीको प्रवृत्तिले मुलुकलाई बारम्बार अन्योलको भुमरीमा फसाइरहेको छ।
देश आज जहाँ उभिएको छ, त्यो सामान्य स्थिति होइन। सरकारी नीति, नेतृत्वको अकर्मण्यता र जनअपेक्षाको उपेक्षाले जनता निराश छन्। महँगी, बेरोजगारी, भ्रष्टाचार र विकास निर्माणमा सुस्तताको कारण जनता सरकारप्रति रुष्ट छन्। यो असन्तोष अहिले सडकसम्म आइपुगेको छ l शान्तिपूर्ण आन्दोलन होस् वा सशक्त प्रदर्शन, जनताले परिवर्तनको माग खुला रूपमा गर्न थालेका छन्।
यता, पछिल्लो समय देउवा परिवारको बैकक भ्रमणलाई पनि राजनीतिक वृत्तले सामान्य पारिवारिक भ्रमणको रूपमा मात्र होइन, सम्भावित सत्ता परिवर्तनको संकेतका रूपमा लिन थालेको देखिन्छ। नेपालजस्तो राजनीतिक गन्ध पत्ता लगाउन खप्पिस मुलुकमा यस्ता भ्रमणलाई प्रायः आकस्मिक जटिलताको सुरुआतका रूपमा बुझिने चलन रहिआएको छ। के यो नयाँ सत्ता समीकरणको तयारी हो त? के यसपटक फेरि सत्ता हस्तान्तरणको नाटक मञ्चन हुँदैछ?
यसबिच ओलीको अनुहारमा पहिलेको जस्तो आत्मविश्वास देखिँदैन। भाषणहरूमा उत्तेजना छ, तर दृष्टिकोणमा गम्भीरता छैन। नीति भन्दा पनि विपक्षीमाथिको कटाक्ष बढी देखिन्छ। जनतासँग संवाद गर्नेभन्दा पनि आलोचना गर्ने शैली हावी छ। यस्तो अवस्थामा ओलीको डर अस्वाभाविक होइन- कारण, आन्दोलन भनेको केवल एउटा घटना होइन, यो जनताको चेतनाको जागरण हो, जुन नेतृत्वको परिवर्तनको दिशामा अग्रसर हुन्छ।
नेपालको राजनीतिक इतिहासले देखाएको छ- जनता जब बोल्न थाल्छन्, सत्ताको सिङ्गासन हल्लिएको छ । अहिले पनि त्यस्तै संकेतहरू देखिन थालेका छन् तर प्रश्न यत्ति हो- ओलीले समयमै आत्मपरीक्षण गर्छन् कि फेरि पनि इतिहासका पानामा ‘घमण्डी नेतृत्व’ को उदाहरणको रूपमा सीमित हुन्छन् ? प्रम ओलीको विवेकको कुरा हो । तर जनताको आशा र भरोसालाई लत्याएर पनि सरकारको आयु लम्बिन्छ कि भन्ने ठान्नु चाहिँ नेतृत्वको बालहठबाहेक केही होइन ।
देशलाई आज निर्णायक नेतृत्व चाहिएको छ- अहंकारी होइन। लोकतन्त्रको मर्म बुझ्ने, जनतालाई सँगै लिएर जान सक्ने, र संवादमा विश्वास गर्ने नेतृत्व चाहिएको हो। अहिलेको समय गम्भीर आत्ममूल्यांकनको हो, केवल सत्ता जोगाउने षड्यन्त्रको होइन। आशा गरौं, नेतृत्वमा समयमा नै सद्बुद्धि आओस् ।
