अन्धकारमा पनि प्रकाश छर्छन् यिनी

‘सर सञ्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछु नि तपाईलाई ।’
यी शब्दहरू कुनै रङ्गमञ्चमा मञ्चित आवाज भने होइनन् । यी हुन् विद्यालयीय शिक्षाका निमित्त काठमाडौंको पानीपोखरीस्थित भानुभक्त उच्च माविका विद्यार्थीहरूको आवाज । यी आवाजहरू निकाल्ने विद्यार्थीहरू दृष्टियुक्त भए पनि सम्बोधित व्याक्ति भने दृष्टिविहीन छन् । ब्रेन लिपीका आधारमा शिक्षण पेशालाई अगाडि बढाएका यिनले विद्यार्थीहरूलाई सन्तुष्ट बनाएको विद्यार्थीकी प्रतिनिधि छात्रा श्रेयको भनाइ छ । उनी थप्छिन् ‘सरले पढाउदा रमाइलो लाग्दछ । किनकि उहाँले पढाउँदा अल्छिपनको अनुभव नै हुँदैन । हँसाएर पढाउनुहुन्छ र राम्ररी बुझाउनुहुन्छ ।’ कक्षा सातमा अध्ययनरत छात्र समीर भन्छन् ‘आफूले विविध क्षेत्रमा जानेका कुरा सरलताका साथ सरले सिकाउनुहुन्छ । त्यसैले मन पर्छ । उहाँले प्रश्न सोध्दा पनि खुसी भएर उत्तर दिनुहुन्छ ।’

दृष्टि नभएर दृष्टियुक्त छात्रछात्रालाई पढाउदा विभिन्न समस्या नआएका भने होइनन् तर समस्या निराकरण गर्न विद्यार्थीको सहयोगी भावनाले गर्दा निकै सहज भएको अनुभव छ दृष्टिविहीन शिक्षकको । पढ्ने विद्यार्थी एकनासे हुँदैनन् । कोही बदमास, भनेको नमान्ने, गृहकार्य नगर्ने पनि हुन्छन् । यस्ता विद्यार्थीलाई उनी विद्यार्थीकै सहयोगमा समस्याको समाधान गर्न खोज्दछन् । थोरै मात्रामा यस्ता विद्यार्थी भए पनि खासै गाह्रो महसुस नभएको उनको अनुभव छ । स्पर्श र ध्वनिका माध्यमबाट पठन पाठन गर्ने उनी कक्षामा हुँदा विद्यार्थीहरू अनुशासित रूपमा नै प्रस्तुत हुन्छन् । उनको स्पर्श गर्ने र ध्वनि श्रवण गर्न सक्ने विशेष क्षमताका कारण हरेक कुरा सजिलै सम्पादन गर्न सक्षम भएकोले उनलाई पढाउन कुनै अफ्ट्यारो महसुस हुँदैन ।



माथि उल्लेखित व्यक्ति करिब डेढ दशकदेखि शिक्षण पेशा अपनाउँदै आएका दृष्टिविहीन शिक्षक बलराम ज्ञवाली हुन् । दरबार देवीस्थान गाउँपालिका १ चारपाल गुल्मीमा विक्रम सम्बत् २०३३ मङ्सिर ७ गते जन्मिएका यिनको सङ्घर्षमय जीवन बुझ्नलायक देखिन्छ । बाबु टीकाराम र आमा चुनकुमारी ज्ञवालीका कोखबाट जन्मिएका यिनले ४० वसन्त पार गरिसकेका छन् ।

परिवारमा चौथो सन्तानका रूपमा जन्मिएका यिनी परिवारमा एक्लो दृष्टिविहीन भने होइनन् । दिदी सीता र बहिनी निर्मला पनि दृष्टिविहीन नै छन् । दुई दाजु दृष्टियुक्त भएकाले पारिवारिक सहयोगमा भने केही सहजता ल्याएको छ । यिनका बुबा आमा जन्मजात दृष्टिविहीन नभए पनि बुबाको भने पछिल्लो समयमा टाइफाइडको कारणले ५४ वर्षको उमेरमा दृष्टि गुमेको थियो । दृष्टि गुमेको १० वर्षमा उनको निधन भयो । पाँच सन्तान जन्मिएपछि बावु टीकारामको दृष्टि गुमेको थियो । तर बाबुको कारणले गर्दा दृष्टि नभएको हो कि भनेर प्रश्न गर्नेहरू धेरै रहेको ज्ञवाली परिवार बताउछ ।

सात वर्षको उमेरसम्म चारपाला, गुल्मीमा बिताएका बलरामले सातै वर्षको उमेरबाट अध्ययनको अवसर पाएका थिए । गाउँमा दृष्टिविहीनहरूका लागि अध्ययनको राम्रो प्रबन्ध नभएकाले उनलाई पढाउने बाबुआमाकोे इच्छा पनि अधुरो नै रहेको थियो तर मामा उमनाथ र सानोवुवा झवीन्द्रको सहयोगले उनले काठमाडौंमा आएर अक्षराम्भ गर्ने अवसर पाए । मामा नेपाल राष्ट्र बैंकमा जागिरे भएकोले गर्दा नै काठमाडौं आएर पढ्न पाएको कुरा उनी बताउँदछन् ।

लेब्रेटरी उच्च माविमा शिशु कक्षामा भर्ना भएका उनी तत्कालीन श्री ५ को सरकारबाट पूर्ण छात्रवृत्तिमा कक्षा १० सम्म पढ्न पाएका थिए । उनले २०४९ को प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । ज्ञवालीले एनवाईओएफमार्फत छात्रवृत्ति प्राप्त गरी प्रवीणता प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्म महेन्द्र रत्न क्याम्पस ताहचल, काठमाडौंमा नेपाली विषय लिई अध्ययन गरे र एमएडसम्मको योग्यता हासिल गरे । विसं २०६० सालदेखि उनी भानुभक्त उच्च माध्यमिक विद्यालयमा अध्यापन गरिरहेका छन् ।

मूल बिषय नेपाली भएता पनि उनी बेलाबेला नैतिक शिक्षामा जोड दिई विद्यार्थीको मनोवल बढाउनुको साथै अनुशासित हुन, चरित्रवान बन्न र देशभक्ति भावनालाई बढवा दिन प्रोत्साहन गर्ने गर्छन् । जागिर आरम्भ गर्दाको अनुभव पनि उनको अनौठो नै छ । सङ्घर्षले स्नातकोत्तर गरेका उनले जागिर नपाएर भौतारिएको कुरा नेपाल समाचार पत्र दैनिकमा छापिएपछि उनलाई चारैतिरबाट अवसरहरू आएका थिए ।

अवसरहरूको छनौट गर्ने क्रममा उनले त्यतिबेला भानुभक्तलाई नै रोजे, त्यसपछि उनको जागिरे जीवन शुरू भयो । यता ज्ञवालीकी दिदी सीता ज्ञवाली पनि शिक्षा शास्त्र संकायतर्फ स्नातकोत्तर उत्तीर्ण गर्ने नेपालकै प्रथम दृष्टिविहीन महिला हुन पुगिन् । उनी हाल ल्याब्रोटरी उच्च माविमा विगत नौ वर्षदेखि दृष्टिविहीनहरूलाई ब्रेन लिपीसँगसँगै कम्युटर शिक्षा पनि अध्यापन गराउँदै आएकी छन् । बहिनी निर्मला ज्ञवालीले पनि एनवाईओएफको सहयोगमा स्नातक तह उत्तीर्ण गर्न सफल भएकी छन् । हाल उनी सक्षमता विकास नेपाल (एडिएसओएन) मा निर्देशक पदमा सेवारत छिन् ।

ज्ञवालीका बुबा कृषि पेशामा रहेकाले उनकी आमा पनि हाल गाउँमा नै सोही पेशामा अपनाइरहेकी छन् । दुई दाजु भने सरकारी र संस्थानमा जागिरे छन् । पारिवारिक समस्यामा जेलिएका बलराम जीवनलाई एक सङ्घर्ष ठान्दछन् ।

व्यक्ति शारीरिक रूपले कमजोर देखिए पनि मानसिक रूपले आफ्नो मनोवललाई उच्च बनाई अगाडि बढेमा सफल हुन सकिन्छ भन्ने उनको धारण छ । उनको सफलताको सूत्र पनि आत्माविश्वास नै हो भनेर मान्न सकिन्छ । आत्माविश्वासका साथ परिश्रम गर्दै गयो भने जीवनमा उज्याला पक्ष पनि धेरै रहेको उनी ठान्दछन् । उज्यालो पक्षको आशा गर्दै बाच्नुमा नै जीवनको सार्थकता रहेको उनको ठम्याइ छ ।

उनी थप्दछन्– अपाङ्गहरूलाई दया माया होइन अवसर चाहिन्छ । उनीहरूको व्याक्तित्व विकास गर्न घर परिवार, छरछिमेक तथा समाजमा रहेका सम्पूर्ण व्यक्तिको सोचमा नै सहयोगी भावना चाहिन्छ । यसरी जीवनलाई आफ्नै ढङ्गबाट परिभाषित गर्न चाहने दृष्टिविहीन बलराम ज्ञवालीको जीवनी सबैका लागि प्रेरणदायी हुन सक्दछ ।

सम्बन्धित समाचार