–मनाेज राज रेग्मी
काठमाडौं, २ भदाै ।
हामी सबै मानव कुनै न कुनै चिन्ताबाट ग्रसित भइरहन्छौं । अलिअलि चिन्ता लिनु त राम्रै पनि हो तर बढी मात्रामा चिन्ता लियो भने यसले हाम्रो मस्तिष्क र शरीरलाई क्षति पु¥याउँदछ । कुनै काम गर्नुभन्दा त्यस कामको बारेमा विचार गर्नु, विद्यार्थीले परीक्षाको बारेमा चिन्ता गर्नु त राम्रै कुरा हो तर नचाहिंदा र वाहियात कुरामा चिन्ता गर्नु त राम्रो कुरा होइन । भनिन्छ चिन्ताले चितासम्म पु-याउँछ ।
यो कुराको निर्णय कसले गर्ने तपाई खुशी हुने कि दुःखी ? तपाई खुशी हुने कि दुःखी, यसको निर्णय तपाई आफूले गर्नुपर्ने हुन्छ । एकचोटी भारतका प्रसिद्ध गायक किशोर कुमारले एउटा कार्यक्रममा एकपछि अर्को राम्रा गीतहरू गाएर मानिसहरूको मनोरञ्जन गराए । मानिसहरू अत्यन्तै आनन्दित अवस्थामा थिए । त्यसबेला कसैले उनलाई सोधे ‘तपाईं यति खुशी हुनुको पछाडिको रहस्य के हो ?’ किशोर कुमारले भने ‘म खुशी हुनुको पछाडि खास ठूलो रहस्य छैन । जब म बिहान उठ्छु तब मलाई दुईवटा कुरामध्ये एउटालाई चुन्नुपर्ने हुन्छ । ती हुन् मलाई खुशी हुनु छ कि दुःखी । तपाई के सम्झनुहुन्छ ? म के चुन्छु होला ? वास्तवमा म खुशी रहने कुराको छनौट गर्दछु । वास्तवमा कुरा यत्ति हो ।’
अब्राहम लिंकन जो अमेरिकाको राष्ट्रपति थिए र विश्वभरी उनको कुरालाई श्रद्धापूर्वक सुनिन्थ्यो । एकपटक उनले एउटा भाषणमा भनेका थिए कि मानिसहरू त्यति नै खुशी हुन्छन् जति उनीहरू आफ्नो मनबाट खुशी हुन चाहन्छन् । यदि तपाई चाहनुहुन्छ भने खुशी रहन सक्नुहुन्छ, खुशी हुन चाहनुभएन भने दुःखी रहनुहुन्छ । वास्तवमा यो हाम्रो चुनावमा भर पर्दछ ।
खुशी हुनलाई वर्तमानमा जिउनु आवश्यक छ । हामी सबैले सुन्ने गरेका छौं वर्तमान महत्वपूर्ण छ । भूतकाल बितिसक्यो, भविष्य देखिएको छैन तर वर्तमान सबैभन्दा महत्वपूर्ण छ । वर्तमानलाई महत्वपूर्ण किन मानिएको त ? किनकि हामी वर्तमानमा बाँचिरहेका छौं । भविष्य आउँछ वर्तमान बनेर, तर स्वयम् भविष्य त कहिल्यै पनि आउँदैन । त्यसकारण भूतकालमा गरेको गल्तीमाथि पश्चाताप मानेर वर्तमानको अमूल्य क्षण गुमाउनु एक समझदार र बुद्धिमान मानिसलाई पटक्कै सुहाउँदैन । त्यसैगरी भविष्यमा हुन सक्ने खतरा, दुःख, अनिश्चय आदिमाथि पीर र सन्ताप मानेर वर्तमानलाई गुमाउनु पनि पक्कै पनि बुद्धिमानी होइन । त्यसकारण बितेका क्षणहरूमा भएका गल्ती र अनुभवबाट पाठ सिक्दै एउटा सुन्दर र उज्जवल भविष्यको कामना गर्दै, सकारात्मक चिन्तन लिएर वर्तमानमा जिउन सके मात्र हामी सुखी र प्रसन्न रहन सक्छौं ।
कुनै ठाउँमा एक दम्पत्ति थिए । पति क्याम्पसमा पढाउँथे भने पत्नी गृहिणी थिइन् । तर दुईजनाको स्वभावमा निकै ठूलो अन्तर थियो । पति सँधै हँसमुख रहन्थे भने पत्नी कुनै न कुनै चिन्ता लिइराख्थिन् । पति महोदय जब कोही नवआगन्तुकसँग परिचय गर्दथे तब भन्दथे कि म क्याम्पसमा अर्थशास्त्र पढाउँदछु र मेरी श्रीमती एक कारखानाकी मालिक्नी हुन् । यदि नवआगन्तुकले श्रीमतीको कारखानामा के बन्दछ भनेर सोधे भने पतिले हाँस्दै भन्ने गर्थे– श्रीमतीको कारखानामा चिन्ता बन्दछ ।
वास्तवमा यो साँचो कुरा हो । हामीमध्ये कति यस्तै कारखानाको मालिक छौं जहाँ बिहानदेखि साँझसम्म चिन्ता, शङ्का र भयको निर्माण हुन्छ । साधारण परिस्थितिमा पनि हामी चिन्ता लिन्छौं, शङ्का र भय लिन्छौं, आफूलाई अभागि ठान्दछौं र आत्महीनताले पिल्सिन्छौं ।
अब आउनुस् यो चिन्तालाई जित्नको लागि के के व्यवहारिक उपायहरू हुन सक्दछन् त्यसमाथि चर्चा गरौं :
एउटा सबैभन्दा सफल र अचुक उपाय त काममा यति व्यस्त हुनुहोस् कि चिन्ताको लागि समय नै नहोस् । हामी कुनै पनि काममा तल्लीन हुँदा हाम्रो ध्यान काममा केन्द्रित हुने हुँदा हामीलाई चिन्ता गर्ने अवसर हुँदैन । नेपालीमा उखान पनि छ कि ‘खाली दिमाग शैतानको घर ।’ अर्थात् दिमाग खाली भयो भने र फुर्सदमा बस्यो भने दिमागमा नानाथरीका कुरा खेल्न थाल्दछन्, दिमागले चिन्ता लिन थाल्दछ र मन तथा चित्त दुःखी हुन्छ, अप्रसन्न हुन्छ । भनिन्छ– द्वितीय विश्वयुद्धको समयमा जब हिटलरले बेलायतमा विध्वंश मच्चाएका थिए तब बेलायतका प्रधानमन्त्री चर्चिलमाथि चारैतिरबाट कठिनाइहरू आएका थिए र उनी तहखानामा दैनिक अठार घण्टा काम गर्दथे । जब उनीसँग कसैले सोध्यो कि यति धेरै जिम्मेवारीबाट उनलाई कत्ति चिन्ता हुन्छ होला ? तब उनले भनेछन् ‘मलाई काम गर्ने समय नै कम छ भने चिन्ता गर्ने समय मैले कहाँबाट पाउनु ?’
अब हामी अर्को मनोवैज्ञानिक तथ्यमाथि विचार गरौं । जब हामी धरहराको दृश्यलाई मनबाट देखिरहेका हुन्छौं तब हाम्रो सामुन्ने राखिएको एउटा पुस्तकमाथि हाम्रो दृष्टि राम्ररी पर्न सक्दैन । हाम्रो मन एक समयमा एउटै काम गर्न सक्दछ । जब हामी कुनै काममा लागेका हुन्छौं, काम गरेका हुन्छौं, काममा तल्लीन हुन्छौं भने अर्को चिन्तारूपी विचार हाम्रो दिमागमा कसरी आउन सक्छ ? के तपाई एकैचोटी दुईटा विषयमाथि विचार गर्न सक्नुहुन्छ ? पक्कै पनि सक्नुहुन्न । यदि विश्वास लाग्दैन भने अहिल्यै कोशिस गरेर हेर्नुहोस् ।
स्नायु रोग र मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिहरूको लागि त योभन्दा उत्तम अरू कुनै उपचार नै छैन कि उनीहरू काममा व्यस्त हुन् र सकेसम्म काम पनि उनीहरूको रूचि अनुसारको होस् जसले गर्दा उनीहरूको ध्यान काममा लागिरहोस् । यो कुरा त तपाईले पनि देख्नुभएको छ, दुःखी व्यक्तिहरू, वृद्धवृद्धा, रोगी आदि हाम्रो देशमा टाढाटाढाको तीर्थ स्थानहरूमा दर्शन गर्न जान्छन् । यो यसकारण हो कि उनीहरूको विचार चिन्ता, व्यर्थको भयबाट हटेर भगवानमा, तीर्थस्थान प्रति लागिरहोस् र व्यस्त भइरहोस् । आजभोलिको युगमा मानिसहरूलाई व्यस्त राख्नको लागि चित्रकारीता, घुमफिर गर्नु, पूmलबारीमा काम गर्नु, खेल खेल्नु, सिनेमा हेर्न जानु, सामाजिक सेवामा भाग लिनु, धर्मकर्ममा मन दिनु आदि कुरा सिकाइन्छ । चिन्ताबाट बच्नलाई आफ्नो मस्तिष्कलाई कहिल्यै पनि फुर्सद नदिनोस् कुनै न कुनै रचनात्मक काममा व्यस्त बनाइराख्नोस्, तल्लीन बनाइराख्नोस् । यो उपायद्वारा हजारौं व्यक्तिले चिन्ताबाट मुक्ति पाएका छन् ।
बुद्धिमान व्यक्तिको लागि प्रत्येक बिहानी एउटा नयाँ जीवनको शङ्खघोष गरेर आएको हुन्छ । वास्तवमा जुन समय बितेको छ, त्यो बितीसक्यो त्यसमाथि पीर र चिन्ता गरेर केही फाइदा छैन । बितेको समयको उपयोग त्यसबाट शिक्षा लिन मात्र गर्नुपर्दछ, चिन्ता लिन होइन । बितेको समयमा भोगेका कष्टहरू, बितेको समयमा गरेका गल्तीहरू, बितेको समयमा गरेको त्रुटीहरूलाई बारम्बार याद गर्नाले वर्तमान विषमय हुन जान्छ, यसो गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरोले हान्नु जस्तै हो । जसले गाढेको लासलाई फेरि निकाल्दछ त्यसले दुर्गन्ध नै सुँघ्न बाध्य हुन्छ । बितेका दिनमा गरेको मूर्खता, पाप, दोष, दुव्र्यवहार, अरूलाई गरेको अहित, बदलाको भावना, ईश्र्या, मनमुटाव, खराब किसिमको वासनाहरूलाई चिहानमा गाढेर भुल्नुहोस्, यसैमा तपाईको भलाइ हुन्छ नत्र यी पुरानो जीवनको दूषितपनाले वर्तमानलाई पनि दूषित बनाउँछ । मनोविज्ञानले यो कुरालाई प्रमाणित गरिसकेको छ कि बितेको पलमा भएको दुःखलाई सम्झने व्यक्तिको मनमा एउटा गुपचुप भय, शङ्का, वेदना सँधै भइरहन्छ जसले गर्दा त्यो व्यक्ति भय, जलन, क्रोध, शत्रुता, वासना आदिको मानसिक दलदलमा विस्तारै विस्तारै भासिन थाल्दछ ।
यसकारण परम सत्य यही हो कि भविष्यको अनिश्चित कुरालाई छोडेर आजको निश्चित कुरालाई हातमा लिएर कार्य गर्नु नै हाम्रो मुख्य ध्येय हुनुपर्दछ । जीवन आज नै हो, आज आज हा,े आज न त भोलि हो, न त हिजो हो । यो कुरा हामीले राम्ररी बुझ्नु जरूरी छ । बितेको समय, हिजो, भूतकाल बितिसक्यो । आउनेवाला भोलि, भोलि बनेर होइन आज बनेर आउँछ तर भोलि त कहिल्यै आउँदैन । अङ्ग्रेजीमा एउटा भनाइ पनि छ ‘टुमारो नेवर कम्स’, यसको मतलब भोलि आउँदैन, वास्तवमा भोलि आज बनेर आउँछ । संस्कृतको भनाइ पनि यस्तो छ–
यदतीतमतीतं तत् संदिग्धमं् यदनागतम् ।
तस्मात् यत्प्राप्तकालं तन्मानवेन विधीयताम् ।।
अर्थात जो बित्यो त्यो बितिसक्यो । जुन आउनेवाला छ त्यो सन्देहग्रस्त छ । यसकारण मनुष्यलाई त्यही काम गर्नुपर्दछ जसको सम्बन्ध वर्तमानसँग छ ।
जुन आज छ त्यो निश्चित छ । जुन भोलि हुन्छ त्यो अनिश्चित छ । त्यसकारण आजको स्वागत गरौं । महाकवि कालिदासले आजको महिमाको आफ्नो अमर कविता उषा अभिनन्दनमा आजको बारेमा यसरी वर्णन गरेका छन् कि आजको जीवन नै जीवन हो र जीवनको सार हो । आजको दिनमा नै हाम्रो जीवनको सम्पूर्ण वास्तविकता लुकेर बसेको छ । भूतकाल स्वप्नजस्तै हो जुन बितिसक्यो, भविष्यकाल एउटा कल्पना हो । आजको सुख र आज गरिने कार्य नै भूतकालको सुखद सपना बन्दछ र भविष्यको आशापूर्ण दिनरात बन्दछ । आजमा नै विकासको वरदान छ, कर्मको गौरव छ र सफलताको धन छ । आउनुस् हामी आजको उषालाई प्रसन्नचित्त भएर नमस्कार गरौं । आउनुस्, आजको ईश्वरीय सृष्टिलाई भोग गरौं र प्रसन्न होऔं । समय कहिल्यै पनि रोकिदैन, आज फेरि कहिल्यै आउदैन, आजलाई हाम्रो हातबाट फुत्किन नदिऔं, आजलाई पूर्ण उपभोग गरौं ।