उद्धव सिलवाल
काठमाडौं, ४ भदाै ।
अमेरिका र चीनबीच देखिएको व्यापारिक विवादको कारण अहिले विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको छ । यही कारण विश्व अर्थतन्त्रले करिव ६ अर्ब डलर गुमाउने प्रक्षेपण अमेरिकी पत्रिका ब्लुम्बर्गका अर्थशास्त्रीहरूले गरेका छन । व्यापारसँग सम्बन्धित अनिश्चितताले गर्दा सन् २०२१ मा विश्वको कूल ग्राहस्थ्र्य उत्पादन (जीडीपी) शून्य दशमलब ६ प्रतिशत घटने आँकलन पनि ती अर्थशास्त्रीहरूले सार्वजनिक गरेका छन् । एक दशक यता पहिलोपटक विश्व अर्थतन्त्र आर्थिक मन्दीमा पर्न सक्ने सम्भावना प्रवल देखिएको उनीहरूको भनाइ छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन २०२१ को अन्त्यसम्म आर्थिक मन्दी हुने अनुमान अमेरिकी व्यवसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणले देखाएको छ । संघले गरेको प्रक्षेपणमा अर्थतन्त्रको मुल्यवृद्धिले सन २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ । यससँगै बेलायती अर्थतन्त्रमा सङ्कुचना आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । युरोपेली संघबाट बेलाययतको बहिर्गमन (ब्रेक्जिट) ले अझै मन्दिमा लैजान सक्ने आँकलन उनीहरूको छ । विश्वव्यापी अर्थतन्त्रमा आएको सङ्कुचनले वेलायतको अर्थतन्त्रलाई कमजोर बनाउने पनि अर्थशास्त्रीहरूले अनुमान गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापारलाई लिएर गर्ने गरेको ट्वीटको कारण कम्पनीहरूको लगानी र कर्मचारी भर्ती सम्बन्धी निर्णय प्रभावित हुने गरेको पनि विभिन्न समाचार ऐजेन्सीहरूले सार्वजनिक गरेका छन् । एकैदिन धेरै विवादास्पद ट्वीट गर्दा कम्पनीहरूको आफनो लगानी नीतिसमेत अस्थिर बन्ने गरेको छ । आगामी सेप्टेम्बर १ देखि लागु हुने गरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गरेपछि दुई देशको व्यापारमा कमी आएको छ । व्यापारमा कमी आएपछि पुनः ट्रम्पले यो प्रस्ताव आगामी डिसेम्वर १५ सम्मको लागि स्थगन गरेका छन् । यसले ट्रम्प आफ्नै निर्णयमा अस्थिर हुने गरेको देखाउँछ । यता अमेरिकी कदमको विरोधमा चीनले अमेरिकी कृषिजन्य सामान खरीदलाई रोकेको छ । केही समयदेखि यो क्रम तीव्र रूपले अघि बढिरहेको विश्व अर्थतन्त्रमा देखिएको छ ।
विश्व अर्थतन्त्रमा खतरा मडारिएपछि न्यूजिल्यान्डको केन्द्रीय बैंकले मुलुकको अर्थतन्त्र सुधारका लागि भन्दै ५० आधार विन्दु व्याजदर घटाउँदा मुद्रा साढे ३ वर्षयताकै कमजोर बन्न पुग्यो । मुद्राको भाउमा आएको अवमूल्यनपछि अर्थमन्त्री निकोलास दुजोभ्नेले राजीनामा नै दिए । थाइल्याण्डले पनि ब्याजदर २५ आधार विन्दु घटाउने निर्णय गरिसकेको छ । भारतले रिपोदर ३५ आधार विन्दु घटाएको छ । यता गतिविधिहरूले विश्वभर आर्थिक मन्दीको चिन्ता बढाएको छ ।
व्यापार युद्धका कारण देखिएको व्यापारिक तनावले विश्वमा उत्पादन तथा रोजगारीमा कटौती हुन सक्ने संभावना देखिएको छ । आर्थिक मन्दीलाई ध्यानमा राख्दै युरोपेली केन्द्रीय बैंक (इसीबी) तथा बेलायतको बैंक अफ इङल्याण्डले पनि ब्याजदर घटाउन सक्ने सङ्केत दिइसकेका छन् । विश्वभरका मुलुकले ब्याजदर कटौतीको योजना अघि सार्नुले अबको केही समयमा विश्व आर्थिक मन्दीमा जान सक्ने जोखिम बढेको देखाएको हो ।
छिमेकी मुलुकको कुरा गर्दा पनि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले चौथोपटक ब्याजदर घटाइसकेको छ । रिर्जभ बैकका पुर्व गर्भनर रघुराम राजनले भारतको अर्थव्यवस्था चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । यी कुरालाई हेर्दा अहिले देखिन लागेको आर्थिक मन्दिले भारतले पनि सोचेजस्तो उपलब्धि हासिल गर्न सक्ने अवस्था देखिदैन । जम्बु कश्मीरको विवादपछि भारत र पाकिस्ताको कारण दक्षिण एशियामा असहजताको स्थिति देखाएको छ । यसले पनि थप अन्योलता थपेको छ ।
अहिले विश्व सेयर बजारको अवस्था कमजोर देखिन थालेको छ । विश्वका केन्द्रीय बैकहरूले ब्याजदर घटाए पनि त्यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखिन थालेको छ । बैकहरूले ब्याजदर घटाउनुले विश्वमा आर्थिक मन्दिको सुरूवात हुन सक्ने अनुमानसँगैं सुनमा थप लगानी भएको देखिन्छ । अर्थतन्त्रको सिद्धान्तअनुसार माग बढेपछि मूल्य अकाशिनु स्वाभाविक प्रक्रिया भित्रै पर्दछ ।
यिनै विषयले नेपाली सेयर बजारमा पनि अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । नेपाली लगानीकर्ताहरूले पनि अमेरिका, युरोप र दक्षिण एशियाको सेयर बजारलाई हेर्ने गरेका छन् । व्यापार युद्धसँगै अमेरिकी सेयर बजारमा आएको सुस्तताले गर्दा नासदाग ८ हजार अङ्कको आसपास रहेको छ भने एस एण्ड पि ३ हजार र डाउजोन्स २६ हजारको आसपास रहेको छ । यो भनेको घट्दो परिसूचक हो । त्यसैगरी भारतीय सेयर बजारको सूचकाङ्क सेनसेक्स एकैदिन ६ सय अङकले घटेर भोलिपल्ट ३ सय अङ्कले बढ्ने गरेको कारोबारले देखाएको छ जसको कारण सेनसेक्स ३७ हजारको आसपासमा रहेको छ । हङकङको होङसेङ २५ हजार र जापानी सूचकाङ्क निक्की २० हजारको आसपास रहेको छ । यसले के देखाउछ भने विश्व सेयर बजारले एकैचोटी नेपाली बजारलाई असर नगरे पनि कालान्तरमा त्यसको अप्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । किनकि एक दशकअघि विश्व अर्थतन्त्रमा छाएको आर्थिक मन्दीका कारण पछि नेपाली सेयर बजारमा सुस्तता आएको थियो र अहिले पनि कारोबारमा सुस्तता आउन सक्ने प्रवल सांभवना रहेको छ ।
नेपाली पुँजी बजार पनि विगत लामो सयमदेखि ओरालोतर्फ लम्किरहेको छ । यी सबै कुरा सिद्धान्तले प्रतिपादन गरे पनि व्यवहारिक पक्षको पखाईमा रहेका लगानीकर्ताको लागि सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भनेको चालु आर्थिक वर्ष सुरू भएको साउन र भदौ महिना हो । यो समयमा सूचिकृत कम्पनीहरूले साधारण सभा गर्ने हुँदा साधरण सभा हुन भन्दा अगाबै बोनस सेयर र लाभांस सुरक्षित गर्ने हिसावले लगानी गर्ने विगतदेखिको परिपाटीले निरन्तरता पाउन नसक्नुमा अमेरिका र चीनबीचको व्यापार युद्धको प्रभावले दक्षिण एशिया र अझ त्यसमा पनि भारतको अर्थतन्त्रसमेत चिन्ताजनक अवस्थामा पुग्ने पुर्व बित्त मन्त्री, पुर्व गर्भनर र अर्थस्शास्त्रीहरूले आँकलन गरेपछि भारतीय सेयर बजारमा परेको प्रभावले नेपाली सेयर बजारका लगानीकर्तालाई अप्रत्यक्ष रूपमा मनोवैज्ञानिक दवाव परेको छ ।
विगत ३ वर्षदेखि खस्किंदै गएको सेयर बजार अहिले पनि त्यही बाटोमा हिडिरहेको छ । नाफा बुक गर्ने समयमा पनि लगानीकर्ता आकर्षित हुन नसक्नु भनेको बजारप्रति लगानी गर्ने वातावराण छैन भन्नु हो । लगानी गर्ने वातावरण राज्यको नीति नियम र कार्यसंचालन जस्ता कुरामा भर पर्ने गर्छ । नीति निर्माताहरूले व्यक्त गर्ने विचारमा आउने गरेको विचलनको कारण लगानीकर्ताहरूले विश्वास गुमाउदै गएका छन् जसको कारण बजारमा लगानी योग्य रकम (तरलता) को अभाव हट्न सकेको छैन । ठुला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् भने साना लगानीकर्तासँग रकम अभावले लगानी गर्न सक्ने अवस्था खुम्चिदै जानुले भोलिको दिन पनि सेयर बजारमा सुधार आउन संभावना कम रहेको देखिन्छ । त्यसैले लगानीकर्ताले लगानी पूर्व छिमेकी मुलुक र छिमेकी मुलुकलाई प्रभाव पर्ने विश्व अर्थतन्त्रको अवस्थाको अध्ययन गरेर मात्रै सेयरमा लगानी गर्दा उपयुक्त हुन सक्छ ।