नरसिंह जात्रा चार सय वर्ष पुरानो परम्परा

काठमाडौं उपत्यकाको मनाइने पुरानो जात्रामध्येको एक नरसिंह जात्रा पाटनमा मनाइएको छ ।

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालामा सुरु भएको भनेर मानिएको यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । मंगलबार मंगलबजारको तुइलाक्वः टोलबाट नरसिंहसहित देव देवीको यात्रा सुरु गरियो ।



जात्र सुरु हुनुअघि पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरअगाडि सबैको कल्याणको कामना गर्दै नरसिहंको विशेष पूजा गर्ने चलन छ । जात्रामा भगवान् नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान् नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ ।

जात्रामा अप्सराहरूले नरसिंह भगवान् हिँड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब तीन सय ८७ वर्ष पुरानो भएको लिखित इतिहास रहेको भनाइ छ । नरसिंह जात्राको क्रममा बाजा गाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।

यो जात्रा विष्णु भक्त प्रह्लादलाई उद्धार गर्न भगवान् विष्णुले नरसिंह अवतार लिई दानव हिरण्यकश्यपको वध गरेको सम्झनामा मनाएको मानिन्छ ।

सम्बन्धित समाचार