संविधान दिवस : राष्ट्रिय झन्डासहित र्‍याली, घरघरमा दीपावली

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संविधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा सीमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउनेबारे छलफल भएको हो ।



विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागितामा काठमाडौँको टुँडिखेल र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ दिवस मनाउने उद्देश्यले कार्यक्रम तय गरिएको छ ।

यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र बनाउने कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसका दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डासहितको र्‍याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।

प्रदेश र स्थानीय तहमा भने सम्बन्धित मन्त्रालयले संयोजन गरी तोकिएको स्थानमा अनिवार्य उपस्थित हुने व्यवस्था मिलाइएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउँदै गृहसचिव प्रेमकुमार राईले सबैलाई सक्रिय सहभागी हुन आग्रह गरे ।

असोज २ गते उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका, नगरपालिकाले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं ब्यानरले नगर सजाउने, आमनागरिकले घरघरमा सरसफाइ गरी साँझ दीपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानमा केन्द्रित भएर सञ्चारमाध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित समाचार