सम्पादकीय
काठमाडौं, ५ भदाै ।
पूर्वराजा ज्ञानेन्द्रले खोक्ता, कोल्टे फेर्दा, पूजा अर्चनाका लागि मन्दिर जाँदा, आफन्तहरूसँग बसेर चियाकफी खाँदा आठ नौ रेक्टर स्केलको भूकम्प गएझैं थर्कमान बन्छ हाम्रो गणतन्त्र । अनि बर्बराराउन थाल्छन् हाम्रा प्रिय प्रचण्ड, बाबुराम र ओलीहरू । भन्छन्– प्राप्त उपलब्धि गुम्ने खतरा भो ।
गुम्ने खतारा देख्नेले थुन्न किन सक्तैनन् ? कति कमजोर धरातलमा उभिएको छ हाम्रो गणतन्त्रको जग ? १४-१५ वर्षको उमेरमा पनि उभिएर ठमठम हिड्न नसक्ने कस्तो सापे गणतन्त्र हो यो ? कोही हल्लिएको देखेर थरथर काम्ने कति निरीह छ यो गणतन्त्र ?
नेताहरूले कालो दाग अनुहारमा हैन, ऐनामा देखे र ऐना पुछ्न थाले । ऐना जति पुछे पनि दाग मेटिएन, किनकि दाग ऐनामा थिएन । नेता र नेतृत्वका नजिक बसेकाहरूले पनि नेताहरूको अनुहारमा नै दाग भएको कुरा गरेनन् बरू नेतृत्वको ध्यान ऐना पुछ्नतिर लगाएर आफू अकुत लाभ लिनतर्फ अग्रसर भए । अन्ततः जनताको सपना चकानाचुर हुनपुग्यो । जनता आफ्नै नेताको चरित्र देखेर निराश बने । जनताको मन जित्न असफल नेताहरू आफ्नो चरित्र सुधार्नुको साटो उल्टो जनतालाई नै लाञ्छित गर्न थाले र गणतन्त्रलाई भय भएको देख्न लागे ।
भ्रष्ट, दलाल, भूमाफियाका नाइकेहरूलाई आफ्नो सुरक्षा कवचभित्र राखेर समृद्ध नेपालको सपना कसरी पूरा हुन सक्छ ? बिलासी जीवन रोजेका नेताले जनतालाई सादगी जीवन जिउने उपदेश दिंदा कसले पत्याउँछ ? चाप्लुसी, चाकडी र भजन गाएकै भरमा कुनै अयोग्य व्यक्ति विशिष्ट पदमा वा प्राज्ञिक थलोमा पुग्छ भने जनताले त्यस्तो राज्य व्यवस्थालाई कसरी सुशासन मान्न सक्छन् ? सरकारका यस्तै अपरिपक्व गतिविधिबाट जनता वाक्क–दिक्क बनिसकेका छन् । सरकार आफैंले नेपालीे जनताको मन जितेर आफ्नो पकडमा राख्न सकेन अनि ज्ञानेन्द्र हल्लिंदा पनि भूकम्प गएको अनुभव गर्न थाल्यो । यो त केवल कमजोर मानसिकताको उपज मात्र हो । किनारा लागिसकेका ज्ञानेन्द्रबाट गणतन्त्रले आफूमाथि खतारा मडारिएको देख्नु भनेको आफ्नो अक्षमतालाई ढाकछोप गर्नु मात्र हो । आत्मा साक्षी राखेर भनौं त, के यही र यस्तै दिन देख्नका लागि मात्र नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए ?
जनताका पक्षमा काम गर्ने व्यक्ति कति शक्तिशाली हुँदोरहेछ भन्ने कुरा रवि लामिछानेको केसबाट स्पष्ठ देखियो । विभिन्न दलहरूले आव्हान गरेको संयुक्त कार्यक्रममा गाडी, खाजा र भत्ताको व्यवस्था गर्दा समेत नआएका जनताहरू रविको लागि स्वतःस्फूर्त रूपमा उर्लिए र चितवन मानव सागरमय बन्यो । आजको अवस्थामा कुन नेताको आव्हानमा यति जनता भेला होलान् ? यो मानव सागर सिङ्गो राज्य सत्ताप्रतिको वितृष्णाको परिणाम् हो भनेर किन बुझ्ने प्रयास गरिएन ? विवेक पुगे नेतृत्वलाई आत्मसमीक्षा गर्न यो एउटै घटना नै प¥याप्त हुनेछ ।
शालिकरामको तथाकथित आत्महत्या काण्डमा रविको संलग्नता के कति छ वा छैन त्यो त अदालतले निरूपण गर्ने विषय बनिसक्यो तर आम मानिसहरू अहिले रविलाई सामाजिक न्यायकताका रूपमा हेरिरहेका छन् र उनको उन्मुक्तिका लागि चितवनमा भेला भइरहेका छन् । यो स्वतःस्फूर्त भेलालाई कुनै माननीयले डलरको भेला भन्न भ्याइसके । अरू कतिको कटाक्ष भरे भोलि सुनिएला तर उनीहरूको आत्माले किन स्वीकार गरेन कि एउटा कानुनी राज्यले गर्नु पर्ने केही काम मात्र रविले गरेकोले उनी सबैका आँखाका नानी बन्न सके, भसोराका आधार बन्न सके । यदि त्यस्तो काम उनीहरू आफैले गर्न सकेको भए निःसन्देह त्यो मानव सागर उनीहरूकै पक्षमा उर्लिने थियो । आफू एउटा टिभी पत्रकारले गर्न सक्ने जति काम पनि गर्न नसक्ने अनि स्वाभिमानी जनतालाई उल्टै दोषारोपण गर्ने ? यस्तो बोली र भनाइ देशकै लागि प्रत्युत्पादक बन्न सक्छ ।
मुलुकमा गणतन्त्र घोषणा भएको यत्तिका वर्षपछि, एउटा सामान्य नागरिक बनिसकेका ज्ञानेन्द्रले जीउ तन्काउँदा पनि भयले काम्ने र रविको न्यायका लागि आवाज उठाउन आउने आफ्नै मतदाता देखेर पनि भयभीत हुने गणतन्त्र कस्तो गणतन्त्र हो ? के साँच्चै हाम्रो गणतन्त्र नेताले भनेजस्तै कमजो छ त ? पक्कै होइन । कमजोर छ भने हाम्रा नेताको मानसिक धरातल चाहिँ कमजोर छ । उनीहरूले जनतालाई भन्ने कुरा र निर्वाह गर्ने भूमिका अपारदर्शी छ । नेताहरूले बोलेजस्तै देश र जनताप्रति इमान्दार भएर केही उल्लेखनीय काम गर्न सकेको भए आजसम्ममा गणतन्त्र चट्टानभन्दा कडा भइसक्थ्यो होला । जनताले ल्याएको गणतन्त्रलाई कसैबाट असुरक्षा छ भने त्यो ज्ञानेन्द्रबाट होइन, बरू गणतन्त्रको नाममा ब्रम्हलुट गर्नेहरूबाट छ, अपारदर्शी गतिविधिमा संलग्न नेताहरूबाटै छ । यो मिथ्यारोप मात्र होइन, नेताहरूको चरित्रमा सुधार आएन भने ढिलो चाँडो यो दुर्भाग्य पनि नेपाली जनताले भोग्नैपर्ने छ ।
२०७६-०५-०५