भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम गिरफ्तार भएका छन् ।
भ्रष्ट्राचारको आरोप लागेका चिदाम्बरमलाई भारतीय सिबिआइको टोलीले लामो रस्साकस्सी पछि अबेर राति उनकै दिल्लीस्थित घरबाट गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
यसअघि उनले बुधबार साँझ नै भारतीय काँग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफु निर्दोष रहेको र सरकारले राजनीतिक बदला लिन धरपकड गरेको आरोप लगाएका थिए ।
चिदम्बरमले बुधबार उच्च अदालत र सर्वोच्च अदालतमा जमानतका लागि गरेका सबै प्रायस असफल भएका थिए ।
मंगलबारदेखि नै सिबिआइले खोजिरहेको भनिएका चिदम्बरमलाई विदेश जान रोक लगाउने लुकआउट नोटिस समेत जारी गरिएको थियो ।
भारतको मिडिया कम्पनी आइएनएक्स मिडियामा आएको ३०५ करोड विदेशी लगानीसम्बन्धमा अनियमितता गरेको आरोप चिदम्बरममाथि लागेको छ । उनीविरुद्ध २०१७ मे १५ मा पहिलो पटक एफआइआर दर्ता गरिएको थियो ।
आइएनएक्स मिडियामा आएको सो विदेशी लागि स्वीकृत गर्दा विदेशी इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिदा अनिमितता गरेको आरोप लगाइएको हो । चिदम्बरम अर्थमन्त्री हुँदा सन् २००७ मा सो अनुमति दिइएको थियो ।
साथै चिदम्बरमविरुद्ध एयरसेल(मेक्सिसको ३५ सय करोडको डिलमा चिदम्बरमको भूमिकाका विषयमा समेत सिबिआइले जाँच गरिरहेको बताइएको छ ।
अब चिदम्बरमलाई विहिबार विशेष अदालतमा पेश गरिने भएको छ भने सर्वोच्चमा उनले गरेको जमानत निवेदनको सुनुवाई शुक्रबार हुने भएको छ ।