दक्षिण अमेरिकाको ब्राजिलियन वर्षा वन (amazon rainforest) मा भइरहेको भीषण आगलागी र बढ्दो विनाशका श्रृंखलाले पृथ्वीको संकटपूर्ण अवस्थालाई संकेत गरेको छ ।
केही समयअघिबाट सुरु भएको आगलागीले अहिले जंगलको धेरै जसो भूभाग जलाएर नष्ट गरिसकेको छ । वातावरणीय संगठन र अन्वेषकहरूले आगलागीको कारण एवं जिम्मेवार मानिस नै रहेको आरोप लगाएका छन् । तर ब्राजिलका केही सरकारी अधिकारीलहरूले भने लाइटिनिंग अर्थात् चट्यांगका कारण आगलागी भएको जनाइरहेका छन् ।
ब्राजिलमा अवस्थित अमेजन सदावहार जंगल विश्वकै ठूलो जंगल हो । यसबाट विश्वमा मानवजातिलाई चाहिने कुल अक्सिजनको २० प्रतिशत अक्सिजन आपूर्ति हुने गर्दछ । १६ हजारभन्दा बढी प्रजातिका वनस्पति रहेको यो जंगलले पूरै विश्वको पारिस्थितिक पद्धतीमा निकै ठुलो योगदान पुर्याइरहेको अवस्था छ ।
अहिले ‘अमेजन हैन, हाम्रो घर जलिरहेको हो’ भन्दै ट्विटरमा प्रेयर अमेजन (#PrayForAmazon) ह्यासट्यागका हजारौँ, लाखौँ ट्विटहरु ट्रेन्डिंगमा छन् । यसले के देखाउँछ भने अहिले विश्वका अन्य देशका मानिसको समेत साझा चिन्ताको विषय बनेको छ अमेजन वनको डँढेलो । यसले गर्दा पृथ्वीमाथि नै संकट सुरु हुने एकथरी वैज्ञानिकहरुको विश्लेषण छ ।