राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरको दर्शन

कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण मन्दिको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीलाई दर्शन भ्रमणमा ललितपुरका महानगर प्रमुख चिरीबाबु महर्जनसमेत सहभागी थिए। आजको दिनलाई सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गरेर मनाउँदै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ।



नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्‍ने गर्छ। नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।

सम्बन्धित समाचार