लक्ष्मीप्रकाश पौड्याल
काठमाडौं, ७ भदाै ।
विषय प्रवेश
नेपाली साहित्यमा बहुचर्चित मात्र होइन, एउटा विशेष आदरका साथ लिइने व्यक्तित्वको नाम हो– पारिजात । विसं. २०२२ मा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ ले त्यसै साल प्राप्त गरेको मदन पुरस्कारसँगै चर्चाको शिखरमा पुगेकी पारिजातको प्रकाशनका आधारमा एघारौं कृतिको नाम हो– ‘अनिँदो पहाडसँगै’ । कतिपय समीक्षकहरूले यस कृतिलाई नेपाली उपन्यासहरूमध्येकै उत्कृष्ट (घिमिरे र ज्ञवाली, २०५८ : १२३) भनेर अतिमूल्याङ्कन गरेको पनि पाइन्छ । विसं. २०३९ सालमा प्रकाशित यस उपन्यासको केन्द्रीय विषयवस्तु भनेको २०३५–०३६ सालमा भएको राजनैतिक उथलपुथल तथा तत्कालीन विद्यार्थीआन्दोलनको प्रभावलाई कलामूल्य प्रदान गर्नु हो ।
त्यसताका मुलुकमा पञ्चायती राज्यव्यवस्था थियो । पञ्चायतका हिमायतीहरूले व्यवस्थाविरूद्ध गतिविधि हुन नदिन सबै प्रकारका दमनलाई क्रियाशील गराएका थिए, यद्यपि व्यवस्थाविरोधी गतिविधिले भित्रभित्रै आफ्नाे एउटा रूप ग्रहण गर्दै थियो । राजनीतिकर्मीहरू, विद्यार्थीहरू तथा बुद्धिजीविहरू सबै आ–आफ्नैतरीकाले व्यवस्था–विरोधी गतिविधिका संलग्न हुँदै थिए । त्यही बेला पाकिस्तानको सैनिक सरकार (राष्ट्रपति जियाउल हक) ले भूपू प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई फाँसी दियोे । पाकिस्तानी सरकारको त्यस कार्यको सर्वत्र विरोध भयो र त्यही सिलसिलामा नेपाली विद्यार्थीहरू पनि विरोधपत्र बुझाउन पाकिस्तानी दूतावासमा जानलाग्दा पञ्चायती शासक त्यसका विरुद्धमा बर्बर रूपमा उत्रियो । नेपाली विद्यार्थीआन्दोलन झन् भड्कियो र त्यसले २०३५ सालको ऐतिहासिक विद्यार्थीआन्दोलनको स्वरूप ग्रहण ग¥यो । अन्ततः सरकारले घुँडा टेक्यो र २०३६ साल जेठ १० गते नेपालमा जनमतसङ्ग्रहको घोषणा गरियो ।
यही नेपालको ऐतिहासिक घटनाक्रमलाई ‘अनिँदो पहाडसँगै’ उपन्यासले आफ्नाे विषयवस्तु बनाएको छ । हृदयचन्द्रसिंह प्रधान, खगेन्द्र सङ्ग्रौला, डीपी अधिकारी तथा स्वयम् पारिजातबाट अग्रगति प्रदान गरिएको प्रगतिवादी उपन्यास–धारालाई एउटा शीर्ष उचाइमा पु¥याउने कार्य ‘अनिँदो पहाडसँगै’ उपन्यासमार्फत् पारिजातबाटै भएको छ (घिमिरे र ज्ञवाली, २०५८ : १२४) । पारिजातका औपन्यासिक यात्राका क्रममा बैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, उसले रोजेको बाटो, पर्खालभित्र र बाहिर हुँदै ‘अनिँदो पहाडसँगै’सम्म आइपुग्दा प्रगतिवादी उपन्यासले एउटा उत्कर्षता प्राप्त गरेको आभास पाइन्छ । अतः समीक्षकहरू ‘अनिँदो पहाडसँगै’लाई माक्र्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले एउटा महत्वपूर्ण उपलब्धी मान्दछन् (घिमिरे र ज्ञवाली, २०५८ : १२४) । यो सामाजिक पृष्ठभूमि रहेको घटनाप्रधान राजनैतिक उपन्यास हो ।
उपन्यासकारको सङ्क्षिप्त चिनारी
साहित्यकार पारिजताको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । बाबु कालुसिंह वाइबा र आमा अमृतादेवी मोक्तानको तेस्रो सन्तानको रूपमा उनको जन्म १९९४ साल वैशाख महिनामा दार्जिलिङको लिङ्गिया चिया बगानमा भएको थियो (घिमिरे र ज्ञवाली, २०५८ : १) । पारिजातको प्रारम्भिक शिक्षा दार्जिलिङमा नै आरम्भ भयो भने वि.सं. २०११ सालमा नेपाल प्रवेश गरेपछि भने उनले क्रमशः पद्मकन्या विद्याश्रम डिल्लीबजार र पद्मकन्या क्याम्पस बागबजारमा अध्ययन गरेको देखिन्छ । पद्मकन्या क्याम्पसबाट उनले स्नातक पास गरेर स्नातकोत्तर अध्ययन गर्न लागिन् तर आर्थिक कारणले उनको स्नातकोत्तर उत्तीर्ण गर्ने सपना भने पूरा हुन सकेन । उनले मदन मेमोरियल गल्स हाइस्कुलमा शिक्षिका बनेर केही समय काम पनि गरिन् तर बाथरोगले पीडित बनेपछि जागिर छाड्न बाध्य भइन् (घिमिरे र ज्ञवाली, २०५८ : २) ।
क्याम्पसमा अध्ययन गर्दैगर्दा नै पारिजातले साहित्यका क्षेत्रमा हात हालेको देखिन्छ । साहित्यलेखन उनले कविता विधाबाट आरम्भ (धरती, २०१३) गरिन् भने त्यसपछि उनले कथा, उपन्यास, आत्मकथा, लेखआदि विविध साहित्यिक विधामा कलम चलाएको देखिन्छ (घिमिरे र ज्ञवाली, २०५८ : ४)। अविवाहित पारिजातको विसं २०२१ सालमा प्रकाशित कथा ‘मैले नजन्माएको छोरो’ ले ठूलै चर्चा कमायो । विसं २०२२ सालमा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ ले त पारिजातको नाम, प्रतिष्ठा र महिमालाई शिखारोहण गराइदियो । शिरीषको फूलले मदन पुरस्कार जितेपछि त पारिजातको चर्चा एउटा मूद्र्धन्य नेपाली साहित्यकारको कोटिमा स्थापित हुनपुग्यो ।
साहित्यिक प्रवृत्तिका हिसाबले पारिजातका उपन्यासहरूलाई दुई चरणमा वर्गीकरण गरेर हेर्ने गरिन्छ– पहिलो ः विसङ्गतिवादी अस्तित्ववादी चरण र दोस्रो : प्रगतिवादी माक्र्सवादी चरण (पौडेल, २०६९ : १९५ )।
उपन्यासलेखनको आरम्भकालतिर पारिजात विसङ्गतिवादी अस्तित्ववादी दर्शनबाट प्रभावित देखिन्छिन् । मानिस नचाहँदै जन्मन्छ र नचाहँदै मर्छ पनि । जन्म र मृत्युका बीच जेजति कार्यहरू गरिन्छन् ती पनि विसङ्गतिपूर्ण नै छन् भन्दै उनी जीवनजगत्प्रति नै घोर अनास्था प्रकट गर्दै निराशावादी बन्दछिन् (पौड्याल, २०६९ : १९५)। जीवनलाई रित्तो, महाशुन्य, निस्सार, महत्वहीन र अभिशापयुक्त ठह¥याउने कालखण्डमा पारिजातबाट ‘शिरीषको फूल’ जस्तो विशिष्ट विसङ्गतिवादी उपन्यास (२०२२) को जन्म हुन्छ । उनका महत्ताहीन र अन्तर्मुखी उपन्यासमा पनि यही प्रवृत्तिले निरन्तरता पाएको देखिन्छ ।
प्रगतिवादी वा माक्र्सवादी दर्शनले भने द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछ र त्यसैका आधारमा जीवनजगत्को व्याख्या गर्ने गर्दछ (जोशी, २०५४ : ५७ )। वर्गीय समाजमा विकृतिका अनेक स्वरूपहरू हुन्छन् । धनी वा पुँजीपति वर्गहरूले गरिब, निमुखा, श्रमजीवी तथा सर्वहारा वर्गलाई प्राचीन कालदेखि नै विभिन्न बाहनामा सताइआएका उदाहरणहरू छन् । समाजमा हेपिएर रहेका र आर्थिक सामाजिक रूपमा तल्लो स्तरमा रहेका वर्गको वर्गीय उत्थानका लागि पीडित वर्ग नै सुसंगठित भएर उठ्ने हो भने पुँजीवादीहरू धराशाही हुन्छन् भन्ने क्रान्तिकारी आवाज यिनीहरूले उठाएका हुन्छन् । आर्थिक सामाजिक रूपमा हेपिएर रहेका बहुसंख्यक जनताहरू नै समाज परिवर्तनका अगुवाहरू हुन् भनेर चेतना प्रवाह गर्ने काम प्रगतिशील साहित्यकारहरूले गरेका हुन्छन् । पारिजातका उत्तरवर्ती उपन्यासहरूमा यही आग्रह रहेको पाइन्छ । ‘उसले रोजेको बाटो’, ‘पर्खालभित्र र बाहिर’, तथा ‘अनिँदो पहाडसँगै’ उपन्यासहरूमा यही चिन्तनले मुखरित हुने अवसर पाएको देखिन्छ ।
अनिँदो पहाडसँगै उपन्यासको विषयवस्तु
तत्कालीन शासकबाट प्रजातान्त्रिक सरकारलाई अपध्वस्त गरी २०१७ सालमा पञ्चायती शासन–व्यवस्थाको प्रादुर्भाव गरे । यस निर्दलीय पञ्चायती व्यवस्थाले आफ्नाे आयुको १९ वर्षसम्ममा जनताबीच घोर वितृष्णा र निराशा उत्पन्न गरायो (पौड्याल, २०६९ : १९५)। परिणाम्स्वरूप जनताहरू यस व्यवस्थाविरुद्ध भित्रभित्रै आन्दोलित हुन थाले । विशेष गरी युवा तथा विद्यार्थीहरू यस व्यवस्थाका विरूद्धमा खुलेरै लागे । परिणामस्वरूप स्थितिले विस्फोटकको रूप लिँदै थियो । यसैबीच पाकिस्तानमा भुट्टोलाई फाँसी दिइयो । यस मानवताविरोधी घटनाको विरोधस्वरूप ज्ञापनपत्र बुझाउन काठमाडौँस्थित पाकिस्तानी दूतावासमा गएका विद्यार्थीमाथिको दमनले पञ्चायती शासकविरुद्ध उत्रन विद्यार्थीहरूलाई आधार बन्यो र विद्यार्थी आन्दोलन झन् भड्कियो । यसै घटना र परिस्थितिलाई आधार बनाएर उपन्यासको कथानक गतिशील भएको छ ।
नुवाकोटको चिण्डे गाउँकी किशोरी गोरीमाया स्थानीय प्रधानपञ्च तथा कृष्ण कार्कीका छलमा परी एउटा अर्धपागलसँग विवाह बन्धनमा बाँधिन पुग्छे । अर्धपागल लोग्नेका कारण घरमा बस्न नसकी गोरीमाया आफ्नाे बाबु घ्यावरिङ्गको घरमा अर्थात् आफ्नाे माइतीघरमा नै फर्किन बाध्य हुन्छे । आर्थिक दुरावस्थाका कारण पीडित बनेको बाबुलाई आफू बोझजस्तै भएको महसुस गर्दछे तर ऊ त्यसबाट सहज रूपमा निकास पनि पाउँदिन । अब कसरी जिवीकोपार्जन गर्ने भनेर विलखबन्दमा परेकी गोरीमायालाई सानीमाको छोरो दाजुले काठमाडौँ लगी डीएसपी भीष्मबहादुर आलेको घरमा घरेलु कामदारको रूपमा काममा जागिर लगाइदिन्छ । भीष्मबहादुर आलेले दार्जिलिङ्ग भ्रमणबाट फर्किंदा त्यहीं एउटा सानो होटल गरी बसेकी तथा एउटा अवैध छोरो पनि भएकी बेसहारा तर सुन्दर महिला चन्द्राकान्तालाई पत्नीका रूपमा वरण गरी आÇनो घर काठमाडौँ ल्याउँछन् । डीएसपीको आफ्नाे तर्फबाट कुनै सन्तान हुँदैन । उनी झड्केलो छोरो लालबहादुरलाई नै आफ्नाे छोरोसरह मानी माया गर्छन्, पढाउँछन्, सबै सुविधा उपलब्ध गराउँछन् यद्यपि लाले अर्थात् लालबहादुर डीएसपीलाई बाबुको रूपमा स्वीकार गर्दैन । ऊ घरमा बढी अन्तर्मुखी स्वभावको देखिन्छ तर भित्रभित्रै पञ्चायत इतर विद्यार्थी राजनीतिमा सक्रिय हुन्छ । उसँगै विद्यार्थी राजनीति गर्नेहरूमा सुवानी, एमआर, प्रदीप शर्मा, नयनतारालगायतका पनि हुन्छन् । बाबु डीएसपी आले पञ्चायत व्यवस्थाको पक्षधर भएर आफ्नो ड्युटी निर्वाह गर्नुपर्ने भूमिकामा देखिन्छन् भने त्यसको विपरीत छोरो लाले पञ्चायतविरोधी गतिविधिमा लागेर सिङ्गो व्यवस्थालाई नै चुनौती दिन सक्रिय हुन्छ ।
२०३५–०३६ सालतिर नेपालमा पञ्चायतविरोधी राजनीतिले एउटा गति लिएको हुन्छ र त्यसलाई बलेको आगोमा घ्यू थप्ने कार्य विद्यार्थीआन्दोलनबाट हुन्छ । आन्दोलनकै क्रममा सुकुम्बासी आन्दोलन दबाउन खटाइएको डीएसपी प्रहरीकै गोली लागी रहस्यमय ढङ्गबाट मारिन्छन् । चन्द्राकान्ता पति विहीन हुन्छे र साह्रै दुःखी बन्दछे । यस दुःखद् घटनाको केही समयपछि मजदुर आन्दोलन चर्किन्छ । पाटन औद्योगिक क्षेत्रमा भएको मजदुर भेलालाई सम्बोधन गर्दागर्दै प्रहरीको गोलीबाट लालबहादुर पनि शहीद बन्छ तर त्यही भेलामा उपस्थित सुवानी भने प्रशासनको आँखा छल्दै भाग्न सफल हुन्छे । लालबहादुरको दुःखद् निधनपछि पनि विद्यार्थी आन्दोलन रोकिँदैन । एकदिन सुवानी उसलाई एकतर्फी माया गर्ने प्रवेश सुब्बा र साथीहरूबाटै सामूहिक बलात्कारको शिकार हुन्छे । बलात्कारको घटनापछि सुवानी विक्षिप्त बन्दछे ।
उसको असन्तुलित मानसिकतालाई हेरेर एमआर सुवानीलाई तराईको सर्लाही क्षेत्रमा गएर निम्न वर्गीय जनतामा चेतना प्रवाहको काम गर्ने प्रबन्ध मिलाउँछ । त्यहाँ गएर सुवानी सुमतीको नामबाट समाजसेवामा जुट्छे । ऊ आफ्नो कामबाट चाँडै लोकप्रिय पनि हुन्छे तर प्रशासनको नजरबाट भने ऊ बच्न सक्दिन र एकदिन पञ्चायती शासकको गोलीबाट ऊ पनि मारिन्छे । सुवानीको अन्त्यसँगै उपन्यासको कथानक ओह्रालो लाग्छ र नेपालमा जनमत सङ्ग्रह भएको, जनमत सङ्ग्रहको नतिजा जनअपेक्षा अनुकूल नआएको, परिवर्तनले सीमान्तकृत जनतामा खुसी ल्याउनुको साटो झन् दुःखी र निराश बनाएको तथा परिवर्तनकारी शक्तिलाई राज्यव्यवस्थाले उपेक्षा गरेकोले जनमुक्तिको सङ्घर्ष अझै जारी नै रहेको सङ्केत गर्दै कथानकको अन्त्य हुन्छ । (पारिजात, २०३९ : १–९२)
अनिँदो पहाडसँगै जाग्राम बसेका आँखाहरू
जब अत्यचारले सीमा नाघ्छ तब विद्रोहको आगो सल्किन्छ । अत्याचारी व्यक्ति, समाज वा शासक जो भए पनि विद्रोहको आगोमा जलेर भष्म हुन्छन् अनि मात्र समाज परिवर्तन हुन्छ । विवेच्य उपन्यास अनिँदो पहाडसँगैमा पनि अत्याचार र थिचोमिचोका चाङ्ग नै छन् । उपन्यासमा कृष्णे कार्की, प्रधानपञ्च सतासी बाजे, उद्योगका महाप्रबन्धक, प्रहरी अफिसरहरू, प्रवेश सुब्बा आदि यस समाजको गतिलाई रोकेर यथास्थितिमा राख्न प्रयत्नरत व्यक्तिगत रूपमा वा प्रवृत्तिगत रूपमा प्रस्तुत शोषक र सामन्तका प्रतिनिधि पात्र हुन् (सुवेदी, २०६४ : ४६३) भने तत्कालीन निर्दलीय पञ्चायती राज पनि त्यस्तो प्रवृति उत्पादन र संरक्षण गर्ने आधार–व्यवस्था बनेको देखिन्छ । निर्दलीय व्यवस्थाको आडमा उल्लेखित पात्रहरूले गरेको अन्याय र अत्याचारले उत्कर्ष रूप लिएपछि त्यस्तो प्रवृत्तिको विरोधमा जनता सडकमा उत्रनु स्वभाविकै देखिन्छ ।
जनजागरणका लागि सुवानी, लालबहादुर, एमआर, प्रदीप शर्मा, गोरीमाया, नयनतारालगायतका युवाहरू आ–आफ्नो ठाउँबाट उठेका छन् र सङ्घर्षका आ–आफ्नो मोर्चा समालेका छन् । उनीहरूकै अगुवाइ, नेतृत्व र भूमिकामा २०३५-०३६ सालको विद्यार्थी आन्दोलन चर्किन्छ र राज्यसत्ता लच्किन्छ । आन्दोलनलाई नेतृत्व गर्दागर्दै लालबहादुर र सुवानीजस्ता क्रान्तिकारी युवा शक्ति शासकको गोलीबाट मारिन्छन् यद्यपि परिवर्तनकामी आन्दोलन रोकिंदैन, परिवर्तनको लक्ष्य मोडिंदैन ।
विद्यार्थी आन्दोलनले उग्र रूप धारण गरेपछि शासक वर्ग जनमतसङ्ग्रह गर्न बाध्य हुन्छ तर जनमतसङ्ग्रहपछि पनि जनताले उठाएका धेरै सवालहरू पूरा हुँदैनन् । जनमतसङ्ग्रहले शासकहरू नयाँ आवरणमा आफ्नो शासनसत्ता टिकाउन त सफल हुन्छन् तर शहीदका सपनाहरू अधुरै र अपुरै रहन्छन् । त्यसैले आन्दोलनको निरन्तरताको खाँचो रहेकातिर सङ्केत गर्दै नयाँ पुस्ताका विद्यार्थी, मजदुर, पेशाकर्मी तथा सचेत नागरिकहरूलाई खबरदारीका लागि जाग्राम बस्न तथा अन्याय, र अत्याचारका विरुद्ध आवाज बुलन्द गरी जनमुक्तिका लागि सङ्कल्पबद्ध रहन उपन्यासमा साहित्यिक आग्रह गरिएको छ । त्यसैले विवेच्य उपन्यासलाई समाजवादी यथार्थवादी उपन्यास सृर्जनाको उपलब्धि (सुवेदी, २०६४ : ४७०) मानिन्छ ।
शीर्षकचयनका दृष्टिले ‘अनिँदो पहाडसँगै’ :
पहाड अनिँदो रहन सक्तैन । ‘अनिँदो पहाडसँगै’ शीर्षकले प्रतीकात्मक अर्थ बहन गरेको छ । पारिजातको दृष्टिकोणमा ‘नसुत्नुको अर्को नाम गतिशीलता हो । अन्याय अत्याचारको खाटमुनि इतिहास सुत्छ भन्ने कुरा मलाई थाहा छैन । परिवर्तनको इतिहास अनिँदो पहाडसँगै जागरम बसेको हुन्छ’ (पारिजात, २०३९ : ३०)। यसरी ‘अनिँदो पहाडसँगै’ भन्ने वाक्यांशले रूढ रूपमा ननिँदाएको वा जागरण बसेको भन्ने अर्थबोध गराए पनि उपन्यासकारले सचेत रूपमा उपन्यास शीर्षकको रूढ अर्थमा विचलन गराई अन्धविश्वास र कुरूप परम्परा बोकेको वर्गीय समाजको परिवर्तनका लागि गतिशील र चट्टानी अडान भएका तथा आफ्नो आस्था र धारणा (माक्र्सवादी चिन्तनबाट प्रभावित) मा पहाडजस्तै अटल, निडर र अविचलित रहेका चेतनशील वर्गहरू आफ्नो गुमेको हक, अधिकार र न्याय प्राप्तिका लागि सदैव जागृत अवस्थामा छन् अथवा रहनुपर्छ भन्ने अर्थ ध्वनित गराइएको छ । ‘यस उपन्यासले नेपालमा सदियौंदेखि अन्याय र अत्यचार रहेको तथा जनताको अधिकार खोसेर सीमित सामन्ती शासकहरुले जनतालाई दबाएर राखेको कुराको वर्णन गरेको छ । त्यसको विरोध सुवानी र लालबहादुर लगायतका पात्रहरुले गरेका छन् । उनीहरुका स्वर्णिम सपनाहरु शताब्दियौंदेखि अनिँदो रहेर जाग्राम बसेका पहाडसँगै जागृत अवस्थामा छन् । विरोधका आन्दोलनहरुमा केही व्यक्तिलाई मारेर क्षणिक स्वार्थपूर्तिको कुटिल राजनीति गर्न सकिन्छ तर सबै नेपालीका मनमा दमित बनेको अन्याय, असमानता र वर्गीय शत्रुप्रतिको आक्रोशलाई मेटाउन सकिँदैन भन्ने पारिजातको अभिमत यस उपन्यासमा प्रकट भएको देखिन्छ’ (घिमिरे, वाङ्मय, पूर्णङ्क १४, २०६७ : १२)। अर्थात् यहाँ अनिँदो पहाड होइन, पहाडजस्तै दृढ व्यवस्थाका परिवर्तनकारी शक्तिहरू– विद्याथीहरू, मजदुरहरू, बुद्धिजीवीहरू तथा सचेत वर्गहरू सदैव अनिँदो रूपमा रहेर निरङ्कुश शासक तथा शोषक वर्गका विरूद्धमा खबरदारी गरिरहेका छन् भन्ने आशय सङ्केत गराइएको छ । उपन्यासको मूल अभीष्ट पनि यही देखिन्छ ।
२०३५-०३६ सालको आन्दोलनको उद्देश्य शासन–व्यवस्थाको परिवर्तनको थियो । त्यही प्राप्तिको लडाईंमा शहीदहरूले आफ्नो प्राण उत्सर्ग गरेका थिए तर षडयन्त्रमूलक तरीकाले गरिएको जनमत सङ्ग्रहले केही नयाँ आवरणमा त्यही व्यवस्थालाई स्थापित गरायो । परिवर्तनकामी जनताले बहुदलीय व्यवस्थाका लागि आफ्नो अमूल्य मत हाले पनि जीत निर्दलीय पञ्चायती व्यवस्थाकै भएको घोषणा गरियो । चलाख शासकहरू पुनः एकपल्ट जनतालाई गुमराहमा राख्न सफल भए । तर जनता भन्दै थिए ‘निर्दल व्यवस्थाको विजय घोषणाले भोका नाङ्गाको मुखमा बुजो लगाउन सक्तैन र यसको उद्देश्य त्यो पनि होइन । भोका भोकै छन्, नाङ्गै छन्, त्यसैले सङ्घर्ष यथावत छ ।…’(पारिजात, २०३९ : ९२)
निष्कर्ष :
‘जसरी पहाडहरू युगौंयुगदेखि अविचलित र अटल छन्, त्यसरी नै समाजवादी चिन्तनद्वारा सभ्य र समुन्नत समाजको निर्माण गर्ने शहीदका सपनाहरू पहाडजस्तै अटल रहेको हुँदा तिनीहरूको विचारमा कहिल्यै विचलन आउने छैन भन्ने मनसाय उपन्यासकार पारिजातको पाइन्छ’ (घिमिरे, वाङ्मय, पूर्णङ्क १४, २०६७ : १५)। अतः चेतनशील युवाहरू आफ्नो हक र अधिकार प्राप्तिका लागि तथा शासक वर्गहरूबाट गरिने षडयन्त्रका विरूद्ध खबरदारीका लागि सदैव सचेत र पहाडझैँ अटल छन् भन्ने दृष्टिकोण प्रस्तुत गर्नु नै उपन्यासको सार हो भन्न सकिन्छ । शासन–व्यवस्थाविरोधी सङ्घर्षलाई यथावत् राख्दै उपन्यास समापन गरिएकोले सङ्घर्षलाई जारी राख्ने शक्तिहरूलाई अनिँदो रूपमा जागरण बस्नलाई ‘अनिँदो पहाडसँगै’ उपन्यासका माध्यमबाट पारिजातले साहित्यिक आग्रह गरेकी छन् । क्रान्तिका लागि तथा नवीन समाजसंरचनाका लागि उत्प्रेरित र उत्साहित तुल्याउनु नै समाजवादी यथार्थवादको साहित्यिक उद्देश्य हुने भएकोले ‘अनिँदो पहाडसँगै’ उपन्यासमा पनि तदनुरूपको राजनैतिक आग्रह रहेको पाइन्छ ।