पत्रकार सम्मेलनमा के भने रविले ? २ बजे चितवनमा धन्यवाद सभा !

टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्यायालयको सम्मान गर्दै मुद्दाबारे नबोल्ने बताएका छन् । उनले केहीबेरअघि चितवनमा पत्रकार सम्मेलन गर्दै आगामी कार्यक्रम झनै सशक्त बनाएर लैजाने बताएका छन् । “सम्मानित अदालतले मुद्दाका विषयमा नबोल्न भनेको हुँदा मैले कानुनी प्रक्रियालाई सघाउनेछु,” रविले भने, “हाम्रो न्यायका लागि यतिका दिनसम्म खटिनुहुने सबैलाई हृदयदेखि नै आभार र धन्यवाद ज्ञापन गर्न पत्रकार सम्मेलन गरिएको हो । सीधा कुरा जनतासँग कार्यक्रम अझ बढी जोशिलो र ओजिलो हुनेछ । हामीलाई अब निदाउने समय छैन । हाम्रो टिमलाई फराकिलो बनाउनुपर्ने अवस्था छ । शनिबारसम्ममा स्टुडियोबाट लाइभ गर्ने प्रयास गरेको छु ।”

रविले आजै २ बजे चितवनमा धन्यवाद सभा राखिएको जानकारी गराए । “जनताले देखाउनुभएको समर्थनलाई ऋणको रुपमा लिएका छौं,” रविले भने,“कसरी चुक्ता गर्ने भन्नेमा छौं । टेलिभिजनबाट घर घरमा पुगेर सम्बोधन गरे पनि हुन्थ्यो । टेलिभिजनमा मात्रै हेरेर भएन । हामीलाई न्यायको आवश्यकता पर्दा उहाँहरु सडकमा आउनुभयो । नारायणी किनारमा २ बजे कार्यक्रम राखेका छौं ।”



पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गर्नुअघि दिएको अभिव्यक्तिपछि रविसहित युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए ।

दुईजनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा अदालतले सोमबार नै रिहा गरेको थियो । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा गरेको थियो ।

सम्बन्धित समाचार