राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नारीहरुको पर्व हरितालिका तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिएका छन्। इन्द्रेणी एकीकृत विकास समाज र पुष्पाञ्जलि इभेन्ट कम्पनीले आजदेखि पोखरा महानगरपालिका–१ स्थित टुँडीखेल मैदानमा आयोजना गरेको तीज मेलाको उद्घाटन कार्यक्रममा उनले तीज लगायतका पर्व सबै नेपालीले मनाउनसक्ने बनाइनुपर्ने बताए।
पर्वलाई खर्चिलो नबनाइकन पनि संस्कृति र परम्पराको संरक्षण गर्न सकिने उल्लेख गर्दै उनले भने, “तीज नेपाली कला र संस्कृतिको संरक्षण गर्ने पर्व हो, विगतमा अधिकार नभएको समयमा महिलाहरुले यसलाई स्वतन्त्रताको दिनको रूपमा लिए पनि अब सशक्तिकरणका लागि मनाइनुपर्दछ ।”
संविधानमा गरिएको आरक्षणको व्यवस्था कमजोर र प्रतिस्पर्धा गर्न नसक्नेलाई भएकाले अवका महिलाहरुले हामी सशक्त छौँ, समान प्रतिस्पर्धा गर्न सक्दछौँ भन्ने सन्देश दिने खालका गीत तथा सङ्गीतका माध्यमबाट आरक्षण खारेजीको अभियान चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको आग्रह गरे । पोखराको पुरानो टुँडीखेल खेल मैदान पछिल्ला वर्षहरुमा अतिक्रमण भएको चिन्ता व्यक्त गर्दै उनले तीनै तहका सरकारहरुले सार्वजनिक सम्पतिको संरक्षणको योजना बनाउनुपर्ने बताए ।