कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्। गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवनमा आफूलाई सत्यम् नामले चिनाउँदै मिजार तपस्यामा बसेका हुन्।
पूर्व पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका ६ को बनबेहेडादेखि झण्डै ३ किलोमिटर भित्र पर्ने बाह्रवनमा तपस्या गरिरहेका उनलाई घर फर्काएर लगेका थिए तर फेरी फर्किएर तपस्यामै बसेका हुन्। पहेलो वस्त्रको पहिरनमा रहेका युवकले अन्न नखाएर भगवान गौतम बुद्धको ध्यान गर्दै आएको बताईएको छ।
उनले आफुले ध्यानकै क्रममा ईश्वरबाट निर्देशन पाउने र सोही अनुसार काम गर्ने बताउने गरेको परिवारका सदस्यहरु बताँउदछन्। यस अघि काठमाडौमा बाईवलको अध्ययन समेत गरेका विलियमले वाईवलको अध्ययन छोडी लुम्बिनी फर्केर ध्यान गरेको उनका आफन्तले बताएका छन्।
त्यहाँका स्थानीयहरुका अनुसार सुरुको ५ दिन सम्म पानी समेत नखाई ध्यानमा बसेका उनले अहिले ध्यानवाट बाहिर आएपछि बेलुका पख पानी र केहि फलफुल खाने गरेको भएपनि एक सय आठ दिन पुगिसक्दा पनि अन्नलाई छोएका समेत छैनन्।
सुरुमा लुम्बिनीबाट नै भगवान गौतम बुद्धको मुर्ति आफै बनाएर ल्याई जंगलभित्र आफ्नो केही भागलाई गोलघेर बनाई भगवान गौतम बुद्धको मुर्ति त्यहाँ राखेर उनी तपस्यामा बसेका थिए।