सञ्चारमाध्यमहरूको भूमिका र चुनौती

संसारभरिका कुनै पनि प्रजातान्त्रिक मुलुकमा कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकापछि सञ्चारमाध्यमलाई विशिष्ट स्थानमा राखेर हेरिन्छ, त्यसैले मिडिया अर्थात् सञ्चारमाध्यमलाई राज्यको चौथो अङ्ग भनिएको हो । समयको परिवर्तनसँगै मिडियालाई आधुनिक समाजले जीवन पद्दतिकै रूपमा स्वीकार गरिसकेको छ । आमसञ्चारका माध्यमहरू अब केवल सूचनाका संवाहकका रूपमा मात्र सीमित रहेनन् यिनीहरू मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रूपान्तरणका संवाहक र समृद्धिका आधार पनि बनिसकेका छन् । गत ०६२–०६३ सालमा भएको ऐतिहासिक जनआन्दोलनलाई नै लिने हो भने पनि सञ्चारमाध्यमहरूको भूमिकालाई स्पष्ठ रूपमा बुझ्न सकिन्छ । मिडियाले सत्य, तथ्य र निष्पक्ष समाचार तथा जानकारीको मात्र सम्प्रेषण गर्दैन, जनतालाई उनीहरूको हक र अधिकारप्रति सजग गराउँदै कर्तव्यप्रति पनि सचेत गराउँछ । यस अर्थमा मिडियाको भूमिका र आवश्यकता हिजोको भन्दा आज अझ बडी गम्भीर बन्दै गइरहेको छ ।

समयअनुसार समाजमा जसको भूमिका जति मात्रामा बढ्दै जान्छ, उसको दायित्व र जिम्मेवारी पनि त्यति नै मात्रामा बड्दै जान्छ । जिम्मेवार व्यक्ति, निकाय वा संस्थाको एउटा सानो भूल वा लापर्वाहीले समाजमा ठूलो नकारात्मक असर पर्न सक्छ र त्यसले मुलुकमा नयाँ विश्वासको सङ्कट पैदागरिदिन सक्छ । सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै समाज रूपान्तरणका लागि क्रियाशील रहेका मिडियाहरूले यस ऐतिहासिक दायित्वलाई कति इमान्दारपूर्वक पालना गरिरहेका छन् त ? अब प्रश्न उठ्छ सक्छ मिडियाहरूकै आन्तरिक अनुशासनका बारेमा ।
के नेपालका मिडियाहरू वास्तवमैं सत्य, तथ्य र निष्पक्षतालाई आधार मानेर चलिरहेका छन् ? मिडियाहरू स्वयम् कति आग्रह वा पूर्वाग्रहबाट पीडित छन् ? के सबै मिडियाहरूले आ–आफ्नो धर्म निर्वाह गरिरहेका छन् ? अरूहरूलाई अर्ति, उपदेश र सल्लाह प्रदान गर्ने मिडियाकर्मीहरू र संचालकहरूको आर्थिक, सामाजिक र बौद्धिक पृष्ठभूमि चाहिँ कस्तो छ ? के यो उपेक्षा गर्ने विषय हो ? लोकतान्त्रिक मुलुकका जनतालाई यस्ता विषयको जानकारी हुन पनि जरूरी छ । यदि मिडियाहरू कसैप्रति आग्रही वा पूर्वाग्रही बनेर आफ्नो शक्ति र सामथ्र्यको दुरूपयोग गरिरहेका छन् भने अब त्यसका बारेमा पनि जान्न जरूरी भइसकेको छ ।



स्वाभाविक छ, कुनै मिडियासँग पनि बुद्धका आँखा हुँदैनन् । एउटा पत्रकारको अहङ्कारले वा आग्रह वा पूर्वाग्रहले एउटा मात्र गलत समाचार सम्प्रेषण गरिदियो भने कुनै एउटा व्यक्तिले वर्षौं लगाएर बनाएको उसको करियर समाप्त हुन्छ, अरबौं लगानी गरेर सयौंलाई रोजगार प्रदान गरिरहेको एउटा उद्योग धराशयी बन्छ । त्यसैगरी एउटा निष्ठावान कर्मचारी कलङ्कित बन्छ, एउटा इमान्दार नागरिक बेइमानी ठहरिन्छ र ऊ घर–परिवार तथा समाजबाट बहिष्कृत हुन्छ । एउटा उद्योगी मुलुकबाटै पलायन हुन सक्छ । यसको विपरीत कुनै मिडिया कसैप्रति दाहिना भइदिएको खण्डमा कुनै उद्योगी व्यापारीले गरेको कुकर्मको थुप्रोमाथि पर्दा लाग्छ, एउटा भ्रष्ट व्यक्ति राज्यबाट पुरस्कृत हुन्छ अथवा एउटा निकृष्ट व्यक्तिले उच्च ओहोदा हासिल गर्नका लागि योग्य बन्दछ । मिडिया दाहिना भइदिए यस्तै यस्तै धेरैथोक हुन्छ । उपरोक्त कुनै पनि सन्दर्भहरू मुलुकको वृहत्तर हितमा भने कदापि हुँदैन, बरू यसले कुनै न कुनै रूपमा मुलुकमा दुर्घटना निम्त्याउन सक्छ । मिडियाकै अपरिपक्व गतिविधिका कारण हुने यस्ता खालका दुर्घटनाको जिम्मेवारी चाहिँ कसले लिन्छ ? के यो एउटा मिथ्या आरोप मात्र हो त ? केही विगतका र केही वर्तमानका घटनाक्रमले यसलाई पुष्टि गरिकेका छन् ।

तस्विरमा लेखक लक्ष्मीप्रकाश पौड्याल

सञ्चारमाध्यममा आएका समाचारहरूलाई आज पनि ठूलो विश्वासका साथ हेरिन्छ र आफ्नो धारणा बनाइन्छ । यो विश्वासको जगलाई अझ मजबुत हुन सकेको खण्डमा दैनिक पत्रिका पढ्ने पाठकहरू, टेलिभिजन हेर्ने दर्शकहरू तथा रेडियो-एफएम सुन्ने श्रोताहरू तथा अनलाइन मिडिया सर्च गर्ने पाठक-दर्शकहरूको संख्यामा लाखौँ वृद्धि हुन सक्दछ, जुन समग्र मिडिया इन्डस्ट्रीकै लागि सुखद् उपलब्धी सावित हुनेछ । तर यस सुखद् परिणामका लागि मिडिया संचालक र मिडियाकर्मीमा उच्च सहनशीलता, धैर्यता र विश्लेषण क्षमता आवश्यक हुन्छ, अन्यथा मिडियाप्रतिको जनविश्वास क्रमशः खस्किन सक्छ । जनविश्वासमा ह्रास आउनु भनेको मिडिया इन्डस्ट्री नै जोखिममा पर्नु हो । विज्ञापन दिएकै आधारमा गलत व्यक्ति वा संस्थाको भजन गाउने तर आफूले भने जति विज्ञापन नपाएकै कारणले दुराग्रह राखी आधारहीन कुरामा कसैप्रति नकारात्मक ढङ्गले खनिने हो भने राज्यको चौथो अङ्ग मानिने मिडियामाथि नै ठूलो प्रश्न चिन्ह लाग्न सक्छ । र, यसले दीर्घकालीन रूपमा मिडियाको निष्पक्षतामाथि नै शङ्काको बीजारोपण गरिदिन्छ ।

यो पनि निराधार र मिथ्या आरोप होइन कि आजको दिनमा पनि कतिपय मिडिया संचालकहरू आफ्नो मिडियामा सन्तोष ढङ्गले विज्ञापन नदिने उद्योगी–व्यवसायी तथा उच्च पदस्थ व्यक्तिका विरूद्धमा नकरात्मक डकुमेन्टहरूको चाङ्ग लगाएर अनुकूल मौका हेरेर बसिरहेका छन् । सम्बन्धित उद्योगी, व्यवसायी वा व्यक्तिसँग लेनदेनको कुरा नमिलेको अवस्थामा ती डकुमेन्टहरू धारावाहिक रूपमा प्रकाशिन वा प्रसारित हुनेछन् । त्यसबाहेक व्यक्तिगत रूपमा पत्रकारहरूले थर्काउने वा तर्साउने पाटो भिन्नै छ । यस्ता कुराहरूले स्वाभिमानी संचालक र पत्रकारको मन दुख्न पनि सक्छ, तर सत्य यस्तै छ । आफ्नो अनुकूल भए कसैले गलत गरे पनि ठीक देख्ने तर आफ्नो अनुकूल नभए काल्पनिक आरोप लगाएर आत्मतुष्टि लिने मिडियाको यो रवैया कुनै हालतमा पनि राम्रो होइन । व्यवसायिक पत्रकारिताका नाममा यस्तो भइरहने हो भने मिडिया संचालक तथा मिडियाकर्मीहरूकै योग्यता, क्षमता र उनीहरूको विगत पृष्ठभूमिप्रति नै प्रश्न नउठ्ला भन्न सकिन्न ।

मिडियामा विज्ञापन दिएकै भरमा एउटा गलत व्यक्ति वा संस्था दण्डित हुनबाट उन्मुक्ति पाउन सक्छ र अर्को विज्ञापन दिन नसकेकै आधारमा दुराग्रहको शिकार बन्न बाध्य हुन्छ भनेर एउटा सामान्य पाठकले वा दर्शकले कसरी बुझ्न सक्छ ? उसले त मिडियामा आएका कुराहरूलाई आँखा चिम्लेर विश्वास गर्न जानेको छ । आम जनताका मनको यो विश्वासको जगलार्ई मिडिया संचालक र मिडियाकर्मीहरूले कसरी बलियो बनाउने हो ? उनीहरूको काँधमा समयले सुम्पिएको यो ठूलो जिम्मेवारी हो । आर्थिक प्रलोभनमा मिडिया विचलित हुने हो भने यो समाजमा इमान्दार व्यक्ति वा संस्थाको कुनै अस्तित्व नरहन सक्छ र गलत मनोवृक्ति हुनेहरूकै बिगबिगीे हुन सक्छ ।

एउटा सभ्य र समुन्नत समाज निर्माणका लागि मिडियाको पनि अहम् भूमिका रहेको हुन्छ । त्यसैले मिडियाहरू गलत प्रवृत्ति भएका व्यक्ति वा संस्थाहरूप्रति कठोर र असल नियत भएकाहरूको प्रेरणाको स्रोत बन्न सक्नुपर्छ । मिडियाकै कारण खराब मनोवृत्ति प्रोत्साहित हुनुहुन्न । मिडियालाई दाहिना बनाउन सके समाजमा जे गरे पनि हुन्छ भन्ने गलत मान्छेका गलत धारणाहरू हतोत्साहित हुन जरूरी छ । त्यसका लागि मिडियाहरू आफ्नो कर्तव्यप्रति अझ बढी जिम्मेवार बन्न जरूरी छ । मुलुकको राजनैतिक अवस्था तरल रहेको अवस्थामा मिडियाको भूमिका अझ बढेको हुन्छ । एउटा मिडियामा आएको समाचारलाई अर्को मिडियामा आएको समाचारबाट भेरिफाई गर्नुपर्ने स्थितिका अन्त्य हुन जरूरी छ । मिडियाहरू जति मात्रामा जिम्मेवार बन्दै जान्छन्, त्यति नै मात्रामा मिडिया, मिडिया संचालक तथा मिडियाकर्मीहरूको प्रतिष्ठा पनि बढ्दै जाने निश्चित छ ।।

सम्बन्धित समाचार