राजनीतिमा मन्त्रीकाे सकारात्मक सन्देश

छुट्टा छुट्टे कार्यक्रममा बुद्ध एयरको जहाजबाट आज बिहान करीब ९ बजे तिर संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर गएका थिए । जब उनीहरु विमनस्थलबाट ओर्लिए सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जहाज रोकिनासाथ मन्त्री भट्टराई र नेता सिटौला सँगै झरे ।

सँगै झरेका उनीहरु गफ गर्दै अघि बढीरहेका थिए । त्यसैवखत उनीहरुको स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे । योगेश भट्टराई बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराई तर्फ के अगाडि सारेका थिए मन्त्री भट्टराईले रोक्दै सिटौला तर्फ देखाउँदै भने, “पहिला दाइलाई ।” उनको भनाईसँगै बस्नेतलेसँगै रहनुभएका सिटौलालाई त्यही खादा पहिले ओडाए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए ।



यो सबै हेरिरहेका नेता कार्यकर्ता दंग परे । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै विपक्षी भए पनि सिनीयरिटीको आधारमा सिटौलालाई सम्मान गर्न पठाएका मन्त्री भट्टराई बाहिरिए ।

चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोख्रेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे । उनले भने, “मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । ” पोख्रेलले अगाडि भने, “लोकतन्त्र र गणतन्त्र यी दुवै पार्टी मिलेर ल्याएका हो, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोख्रेलले बताए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखे ।

उनीहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव कृष्णभक्त पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाललगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तार सम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजन सम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन गएका थिए । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए ।

सम्बन्धित समाचार