कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका छन् । बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टर्नोडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्दै विपद्का समयमा जनताले भरोसा गर्नसक्ने संस्थाका रुपमा आफूलाई उभ्याउन सफल भएको बताए।
“राष्ट्रिय सुरक्षा मात्र होइन, नेपाली सेनाले जनतासँग एकाकार र समर्पित भएर भूमिका खेल्दै आएको छ”, उनले भने, “राज्यको महत्वपूर्ण अङ्गका रुपमा पूर्वदेखि पश्चिमसम्म भरोसा गर्न सक्ने विश्वास दिलाएको छ ।”
स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित जनतालाई घर हस्तान्तरण गर्न लागिएका बारेमा आफूसँग टेलिफोनमार्फत चासो व्यक्त गरेको सुनाउँदै कावा प्रधानमन्त्री पोखरेलले सो क्रममा प्रधानमन्त्रीले आवास निर्माण सम्पन्न भएकामा सबैलाई बधाई ज्ञापन गरेको जानकारी दिए ।
मुलुक राजनीतिक स्थिरतासँगै अगाडि बढेको उल्लेख गर्दै उनले वर्तमान सरकार जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने ढङ्गबाट लागिपरेको बताए । “सरकार जनताका सामु गरिएको प्रतिबद्धता पूरा गर्न लागिपरेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, पोखरेलले भने, “सरकार जनताको हितमा रहिरहनेछ, जो जुन ठाउँमा छौँ, जनताको पक्षमा भूमिका खेलौँ ।”