सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता टुंगिन लामो समय लाग्दा प्रतिक्रियावादीहरुले टाउको उठाउने जमर्को गरेको बताएका छन्। नेकपा विदेश विभागको पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
‘तीन महिनाभित्रै एकता सकेर जनतामा जानुपथ्र्यो। तर त्यसो गर्न नसकेकाले हाम्रो कमजोरीलाई प्रतिक्रियावादीले टाउको उठाउने जमर्को गरेका छन्’, उनले भने, ‘संघीय गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस केही मानिसले गरेका छन्।’ अध्यक्ष दाहालले कम्युनिष्टको बहुमत देख्न नसक्नेहरु सक्रिय भएको पनि उल्लेख गरे।
उनले पार्टी एकता अन्तिमचरणमा आएको बताउँदै अहिले आफुहरु निकै ठूलो अवसर र चुनौतीको बीचमा रहेको पनि उल्लेख गरे। ‘कम्युनिष्ट पार्टीको बहुमत देख्न नसक्ने शक्तिहरु अहिले सक्रिय छन्’, दाहालले थपे, ‘हामी कसैले दया गरेर यहाँसम्म आएका होइनौँ। हामीले जुन तदारुकतासाथ काम गर्नुपथ्र्यो, त्यो हुन सकेन। एकतालाई चाँडो टुंग्याएर जनतामाझ जान नसक्दा प्रतिक्रियावादीहरु सक्रिय हुन खोजेका छन्।’