पूर्वशान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन्। जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे। उपलब्धिलाई बिर्सेर भड्किएमा आफैँले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै शर्माले कसैको बहकाउमा लागेर सामाजिक संजालमा जथाभावी नलेख्न आग्रह गरे।
रिपोटर्स क्लब दाङ र बबई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्दै शर्माले जनताको विजय हासिल गर्न हापुरेमा पहिलो पटक शान्ति वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पूरा भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतन्त्रिक गणतन्त्र नै भएको उनले बताए ।
फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रह गरेका छन् । हत्या, हिंसा र बमले माग पूरा गर्न नसकिने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए ।