नेपाल विकासका निम्ति चिनियाँ सहयोगको अपेक्षा गरेका छौः प्रचण्ड

नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान भएको दोहोर्याउँदै चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ ।’ नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उनले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे ।



अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए।

नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेका बताउँदै उनले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार हो भने ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले समस्यारहित नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताए ।

चिनियाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन चाहेका तर उनीहरुमा शङ्का र जिज्ञासा रहेकाले त्यसलाई निवारण गर्न नेपालमा नै मञ्चको बैठक आयोजना गरिएको बताए ।

मञ्चको एक दिवसीय बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री र उनहरुका प्रतिनिधिले आ–आफ्ना प्रदेशका औद्योगिक विकासका सम्भावनाबारे विस्तृत विवरण प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा ५० भन्दा बढी चिनियाँ लगानीकर्ता सहभागी छन् ।

बैठकमा चाइना कमर्सियल स्टक इन्टरप्राइजेजका नायब महासचिव ली छुसोङले नेपालमा औद्योगिक प्रतिष्ठान स्थापनासम्बन्धी विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार