गोरखा, भीमसेन गाउँपालिका -४ का सविन कुमार ३२ वर्षका भए । तर हालसम्म उनले बाबुको नामको नागरिकता पाएका छैनन् । उनकी आमा साईली भनिने चेपा परियार हुन् भने बाबु पुडासैनी (हाललाई नाम गोप्य राखिएको) । आमा दलित भएकै कारण सविन र उनको आमालाई पुडासैनी परिवारले स्वीकार गरेन । स्थानीयहरूको पहलमा सुत्केरी खर्च र सामान्य जीवनयापन खर्च बेहोर्ने गरी नवजात शिशुसँगै उनकी आमालाई माइतमा बस्न लगाइयो ।
दलितसँग बिहे गरेको बहानामा पुडासैनी परिवारलाई गाउँलेहरूले बहिष्कार गरे । सविनका बाबु गाउँ छोडेर भारततिर पसे । लामो समयपछि गाउँ फर्किएका उनलाई सविनले नागरिकता बनाइदिन आग्रह गर्दै आए तर पुडासैनीले भोलि भोलि भनेर वषौंसम्म झुलाइरहे । कुनै चलचित्रको कहानीजस्तो लाग्ने सविनको वास्तविक जीवन भोगाइ कम मार्मिक छैन । उनी पुनः एकपल्ट अहिले न्यायको ढोका ढकढक्याउने प्रयत्न गर्दैछन् । हाल लक्का जवान (चलचित्रको हिरो)जस्तै भएका सविन आफू र आफ्नो आमामाथि भएको ज्यादतीको कानुनी उपचार खोज्ने तयारीमा छन् ।
केवल ४ कक्षा पढेका सविन कानुनी प्रक्रियाबारे मेसो नपाएर धेरै ठाउँमा भैंतारिए । सविन कानुनी उपचारमा लागेको थाहा पाएर अहिले पुडासैनी परिवार सविनलाई पैसाको प्रलोभन देखाएर कहिले प्रेमपूर्वक र कहिले धम्कीको भाषामा केश मिलाउन दवाब दिइरहेको कुरा सविन बताउछन् ।
‘मेरी आमा दलित, उनीहरू गाँउकै खानदानी परिवार, मेरीे आमाको न्यायको निम्ती कसैले पहल गरिदिएनन्’ सविनले गुनासो पोखे । उनले अगाडि भने– ‘मेरो मामाघरको हजुरबुवा पुडासैनी परिवारकै घरमा कपडा सिलाउने गर्नुहुन्थ्यो । त्यसै क्रममा मेरी आमा र पुडासैनी नजिक भएका र पुडासैनीले आमालाई कतै बिहे नगर्न दवाव दिने गरेका थिए रे । पुडासैनीबाट बिहेको आश्वसन पाएर आमाले पटक पटक हुन अन्त लागेको बिहे पनि रद्द गर्नु भएछ । मैले ४ कक्षासम्म मात्र पढेको छु । चार कक्षामा पढ्दासम्म मैले थर पुडासैनी नै लेखेको थिएँ । मैले थर पुडासैनी लेखेको बहानामा पुडासैनी परिवारले मलाई स्कुल नै जान दिएन । मेरोे पढ्ने धोको अपूरै रह्यो ।’
सविनले आफ्नो वाल्यकाल सम्झदै भने– ‘मेरो अनुहार बुबाको अनुहारसँग ढ्याक्कै मिल्दोजुल्दो छ । म सानोमा खेल्दै बुबाको घरतिर पुग्दा वहाँहरू मलाई कुटपिट गरेर लखेट्ने गर्नुहुन्थ्यो । बुबाको माया पाउने त परको कुरा, बरू उल्टै पटकपटक बुबाको पिटाइ खाँदै हुर्किएको छु । न्याय नपाए गोर्खा जानु भन्नछन् , तर गोरखा नै जन्मिएर ३२ औं वसन्त पार गर्दासम्म मैले न्याय पाउन सकेको छुइनँ ।’
सविनको आमा र बाबुको सम्बन्धका बारेमा गाँउका सबैलाई जानकारी छ । उनीहरुले पनि सविनलाई कानुनी प्रक्रियामा जान सुझाएका छन् । ‘कहाँ गएर बोल्नु पर्छ , वास्तविकता बोल्न हामी तयार छौं तर तिमीले बाबुको नामबाट पाउनु र्ने हक अधिकार पाउनुपर्छ’ भनेर गाउँलेहरूले प्रोत्साहन दिने गरेको सविन सुनाउँछन् ।
सविन हाल भोटाहिटीको साझा भण्डारको भर्याङमुनि सानो सिलाई पसल सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन् । अन्ठाउन्न वर्ष पुगेकी उनकी आमा रोगी र आँखा नदेख्ने छिन् । उनले न पति कायम भएका छन्, न त एकल महिलाको दर्जा पाउन सकेकी छन् । सविन भन्छन् ‘अब म पनि बुझ्ने भएको छु, आमालाई बुढेसकालमै भए पनि न्याय दिलाएरै छोड्छु ।’
कानुनी उपचार कसरी ?
सविनको समस्या सुनिसकेपछि वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले यो समस्याको कानुन उपचार हुने बताए । उनले अहिलेको विज्ञानको युगमा कसैले आफ्नो कुकर्मलाई होईन भनेकै भरमा उन्मुक्ति पाउन नसक्ने धारणा व्यक्त गरे । जिल्ला अदालतमा नाता कायम गरी पाउँ भन्ने उजुरी दिएपछि सविन र उनकी आमाले न्याय पाउने उनको भनाइ रहेको थियो ।
थप जानकारीका लागि भिडियो हेर्नुहोला ।