संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे ।
उनले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पुयार्एको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताए । नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकका लागि नेपालले प्रवेशाज्ञा शुल्क मिनाह गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताए । उनले चिनियाँ नागरिकलाई ढुक्क भई नेपालमा लगानी गर्न आह्वान गरे । सङ्घीयताको सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले नेपालको समृद्धिको चाहनालाई पूरा गर्न चीन र चिनियाँ जनतासँग आग्रह गरिएको मन्त्री यादवले बताए ।