बाटो नबनेकोमा काङ्ग्रेसको विरोध कार्यक्रम

काठमाडौंसँग जोडिएका तीन नाकाहरू काठमाडौं नुवाकोट रसुवा पासाङ लामा राजमार्ग, तीनपिप्ले ओखरपैवा, कुमारी, गल्छी वैकल्पिक राजमार्ग र छहरे टोखा केरूङ मार्ग गरी तीनवटै नाका पूर्णरूपमा बन्द भएको महिनाैं बितिसकेको छ । यसले व्यापारीहरूको व्यवसाय धराशयी बन्दै गएको छ भने हजारौं कृषकहरूले उत्पादन गरेको तरकारी काठमाडौंको बजारसम्म पुर्याउन नपाउँदा किसानहरूको करोडौ रुपैयाँ नोक्सान भएको छ ।

लामो समयदेखि यी बाटाहरूबाट दैनिक उपभोग्य वस्तुहसमेत आवत जावत हुन सकिरहेको छैन । पोल्टिफार्म तथा होटल व्यवसायहरू क्रमशः धरायसी बन्दै गईरहेका छन् भने एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधनसमेत चल्न नसक्दा बिरामीले अकालमा ज्यान गुमाउन पर्ने अवस्था सिर्जना भएको छ । यसले स्थानीयहरूलाई आक्रोसित र क्रुद्ध बनाएको छ ।



जिल्लाका प्रमुख नाकाहरू लामो समयसम्म नबनेकोमा पीडित र क्रुद्ध बनेका स्थानीयबासी तथा नेपाली काङ्ग्रेस नगर-गाउँ सम्पर्क समिति, संयुक्त दवाब समूह नुवाकोटले नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सभापति जगदीश्वर नर्सिङ केसीको प्रमुख अतिथ्यमा हालै एक विरोध कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सभापति जगदीश्वर नर्सिङ केसी, बिदुर नगरपालिका काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष, बेलकोट गढी नगरपालिका काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष, हजारौं स्थानीयबासीहरू तथा तारकेश्वर नगरपालिकाका सक्रिय कार्यकर्ताहरू जम्मा भई सरकारको लापर्वाही र लाचारीपनको विरोध गरेका थिए । प्रमुख अतिथि केसीले सभालाई सम्बोधन गर्दै भने– ‘हामीले सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेटी जानकारी गराउदाँ पनि केही कार्यन्वयन नभएकोले सडकबाटै जन–दवाब सिर्जना गर्न बाध्य भएका छौं ।’

‘यो सरकार निदाइरहेको छ । हरेक विभाग र माताहतका कर्मचारीहरूले चरम भ्रष्टाचार गरेको प्रमाण भेट्दा पनि चूपचाप बसिरहेको छ । ठेकेदार कम्पनीहरूले गरेको लापरवाहीको नमुना काठमाडौंसँग जोडिएका यी तीनवटा महत्वपूर्ण नाकाहरूलाई नै लिन सकिन्छ’ भन्दै प्रमुख अतिथि केसीले काङ्ग्रेसको दोस्रो जागरण अभियानमार्फत देशैभरि जनदवाबको आँधी सिर्जान गर्ने बताए । कार्यक्रममा होटल व्यवसायी एवम् ककनी काठमाडौं सम्पर्क मञ्जका अध्यक्ष समेत रहेका ऋषिकुमार तमाङ्घले यो सरकार भ्रष्ट भएकोले जनसरोकारका काममा ध्यान नदिएकोले सडकदेखि सदनसम्म आवाज बुलन्द गर्न पर्ने बताए । .

सम्बन्धित समाचार