आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगी, अस्पताल भर्ना

पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ। वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै स‌ंक्रमित भइसकेका छन् । गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र उनका छोरा पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए ।

यसैबीच आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई पनि डेंगीको संक्रमण भएको छ । उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी दिएको छ। उनीसहित परिवारका तीन जनालाई डेंगीको संक्रमण भएको बताइएको छ । अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन ।



पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा डा रुइत एक्ला स्वास्थ्यकर्मी होइनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार