विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुने भएको छ। दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको यो पाइपलाइनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नेछन्।
मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। अर्यालका अनुसार दुवै मुलुकका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पाइपलाइन उद्घाटन गर्नेछन्।
रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ। यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ। उद्घाटनसँगै मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ।