नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन् । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए ।
दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, “अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।”
डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले उल्लेख गरे । बिपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “वास्तवमा बिपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान र बराबर हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ । उहाँको विचारको अनुसरण गर्नु आवश्यक छ ।”
कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले काङ्ग्रेस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए ।