थम्मन थापा
बागलुङ, २५ भदाै ।
‘ताराखोला गाउँपालिकाको पहिचान, संस्कृति जोगाउँदै प्रवद्र्धनको अभियान’ भन्ने मुल नाराका साथ ताराखोलामा मगर समुदायले सिस्नो खोस्ने भदौरे पर्व धुमधामका साथ मनाएका छन् । आफना दिवंगत पितृहरू तथा प्रकृतिको सम्मानार्थ परम्परागत सिस्नो खोस्ने पर्व गरिदै आएको ताराखोला–५ निवासी दुतमान घर्तीले जानकारी दिए ।
भदौ शुक्ल पक्षको अवसरमा आयोजना गरिने पर्वमा पहिलो दिन बुढापाका जम्मा भएर बाटो सरसफाई तथा चार किल्ला सिमानमा वाचा गर्ने गरिन्छ । त्यस्तै, दोस्रो दिन युवा युवतीहरू जम्मा भएर बाटो सरसफाई गर्ने, तेस्रो दिन मगर समुदायको हेम्थो (मुल घर) मा पितृहरू, देव देवता, सिमे भुमेको नाममा अन्नपात चढाउने र सबैको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पूजा अर्चना गरिनुका साथै यानीमाया गीत गाउने ढ्याङराहरू र झ्याली बजाएर रमाइलो गर्ने तथा राँगोको बली दिने परम्परा रहेको छ । पर्वको अन्तिम दिन बिहानैदेखि मूल घर नजिक रहेको पाटामा विधिवत् पूजा गर्ने, सुँगुरको बली दिनेसँगै सामुहिक रूपमा मन्त्र जप्दै ढ्याङराहरू र झ्याली बजाइने स्थानीय ससु रोकाले जानकारी दिए ।
त्यसपछि सुँगुरको सपेटो निकालेर सिस्नोमा बाँध्ने गरिन्छ । अन्त्यमा बुढापाकाहरू र अविवाहित युवाहरूले ढ्याङरा र झ्याली बजाउदै उक्त सपेटोसहितको सिस्नोसँगै परिक्रमा गर्ने प्रचलन रहेको छ । युवाहरुले बोकेको उक्त सिस्नो युवाहरू र युवतीहरूबीच पाँचपटकसम्म एक आपसमा सामुहिक रूपमा घण्टौंसम्म खोस्ने गरिन्छ । सपेटोसहितको सिस्नोलाई युवाहरूले जोगाउने र युवतीहरूले खोस्ने गर्दछन । जितिसकेपछि यिनै युवा युवतीहरू मिलेर सामुहिक रूपमा त्यसलाई खाने गर्दछन् ।
सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवा युवतीहरू मात्र सहभागी हुन पाउदछन् । पर्वमा मगर समुदायसँगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिति हुने गर्दछ । सिस्नो खोस्ने भदौरे पर्व २ वर्षको अन्तरमा गर्ने प्रचलन छ ।