राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशकोसमेत सो बैठकमा जानकारी गराए ।
शोक प्रस्ताव पारित
राष्ट्रियसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संविधानसभा सदस्य राईको यही भदौ १० गते मङ्गलबार उपचारका क्रममा निधन भएको थियो । उनको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठकले दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक यही भदौ २६ गते दिउँसो १ बजे बस्नेछ ।