विकासमा निजी क्षेत्रको सहभागिता आवश्यक : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको समृद्धि सम्भव नहुने बताएका छन् । सरकारी–निजी साझेदारी अवधारणाबाट मात्रै विकास र समृद्धि प्राप्त हुने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ पश्चिम नवलपरासीले आज परासीमा गरेको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने,“सरकारले त आर्थिक विकासको बाटो खोल्दिने हो, निजी क्षेत्रसँगको साझेदारीबिना सरकार एक्लैले समृद्धि ल्याउन सक्दैन्, निजी–सरकारी साझेदारीबाटै मुलुकको विकास गर्नुपर्छ ।”



मन्त्री यादवले स्वदेशी व्यवसायी उत्साहित नभई विदेशी लगानी पनि नभित्रिने भएकाले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । “उद्योग व्यापार वृद्धि नभई रोजगारी बढ्दैन, राज्यको आय पनि बढ्दैन, गरीबी पनि घट्दैन्, लगानीको वातावरण र करको दायरा फराकिलो बनाउन हामी छलफल गर्छौँ” उनले भने ।

अर्को प्रसङ्गमा उपप्रधानमन्त्री यादवले नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नीतिमा आफूहरुको असहमति रहेको बताए । मन्त्री यादवले सीमा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै भारतीय सवारी साधनमा कडाइ गरिएको विषयमा पुनःविचार आवश्यक रहेको धारणा व्यक्त गरे ।

मन्त्री यादवले सुनवलमा अस्पताल बन्ने निश्चित भइसकेको र बजेट पनि पठाएको उल्लेख गर्दै राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापनाका लागि सोच्न सकिने बताए ।

सम्बन्धित समाचार