तीव्र रुपमा फैलिरहेको डेंगु परीक्षणका लागि टेकु अस्पतालमा सार्वजनिक बिदामा पनि ओपीडी खुला

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डेंगु परीक्षण गराउन आउनेको संख्यामा कमी नआएपछि सार्वजनिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गरेको छ । अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बिरामीको चाप नघटेपछि आज इन्द्रजात्राकोे बिदाको दिन र भोलि शनिबारको बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालले निर्णय गरेको र ल्याब तथा सबै सेवा नियमित रुपमा सञ्चालन गरिने बताए ।

अस्पतालले डेंगु परीक्षण गर्न सहज होस् भनेर ओपीडी बाहेक अरु दुईवटा फिबर क्लिनिक पनि सञ्चालनमा ल्याएको छ । मेसिन कम हुँदा बिरामीको चाप नियन्त्रणमा समस्या आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा मेसिन थप गरेपछि बिरामीको चाप नियन्त्रण गर्न सहज हुँदै गएको उनले जानकारी दिए ।



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादवले गत साता अस्पतालको अनुगमनमा क्रममा डेंगु परीक्षण तथा उपचार निःशुल्क गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका थिए । तर, अहिलेसम्म सो निर्देशन कार्यान्वयनमा नआएको बिरामीले बताएका छन् । अस्पताल प्रसासनले भने डेंगुका बिरामीलाई निःशुल्क उपचार गर्न कुनै आधिकारिक पत्र नआएको बताउँदै आएको छ ।

डेंगु परीक्षण गर्ने किटको पाँच सय रुपैयाँ लिए पनि बेडको शुल्क भने नलिएको अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । उनले भने, “अस्पतालमा दैनिक रुपमा ज्वरोका बिरामी झन्डै नौ सयजना गरेका छन्, जसमा ६ सयभन्दा बढीको डेंगु परीक्षण गर्ने गरिएको छ ।”

सम्बन्धित समाचार