नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारलाई अधिनायकवादी र लोकतन्त्र विरोधी भन्नेलाई संविधान पल्टाएर पढ्न सुझाव दिएका छन् । इलाममा आज पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै आफ्नै नेतृत्वले निर्माण गरेको संविधान आफैँले ‘कुल्चन’ नसक्ने भन्दै नेम्वाङले संविधानको मर्म र भावना बाहिर कोही पनि जान नसक्ने स्पष्ट पारे ।
संविधानले सबै पक्षको भावना समेटेर अघि बढेको भन्दै नेम्वाङले यसबारेमा औँला उठाउनु नपर्ने बताए । नेम्वाङले कम्युनिष्ट नेतृत्वमा नभएको भए संविधान निर्माण नहुने बताए ।
उनले मुलुकमा विभिन्न समयमा भएका आन्दोलनको प्रतिफलसमेत संविधानले दिएको बताए । नेम्वाङले मुलुक स्थिरता र विकासको ढोका मानिने संविधान निर्माण गर्ने काम कम्युनिष्ट नेतृत्वकै कारणमात्र सम्भव भएको जिकिर गरे । उनले भने, “सबै दललाई एक बनाउने काम हामीले नै गर्यौ ।”