गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरमा घटेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्र । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएको जिज्ञासाका सम्बन्धमा जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई यही भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको जानकारी दिए ।
गृहमन्त्री थापाले बाँके काङ्ग्रेसले कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनलाई जानकारी नदिएको बताउँदै खजुरा घटनाका सम्बन्धमा थप अन्य अनुसन्धान एवं शान्ति सुव्यवस्था खलल हुन नदिन उच्च सतर्कता अपनाइएको छ भने ।
गृहमन्त्रीले खजुरा घटनालाई सरकारले हलुका रुपमा नलिएको र नेकपाले निर्णय गरेर कार्यक्रम बिथोल्न पनि कसैलाई नपठाएको जवाफ दिए । “लोकतन्त्रको रक्षा र अभिव्यक्तिको स्वतन्त्रतामाथि सरकार सदैव सजग रहेको छ”, उनले भने ।
बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा नेपाली काङ्ग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेको बेला केही व्यक्ति भित्र प्रवेश गरी कार्यक्रम बिथोल्न खोज्दा बाँके काङ्ग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणबाट उहाँको देब्रे हात भाँचिएको थियो ।