नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ ।
चालक दलका सदस्यबाहेक युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए । अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ । अमेरिकामा आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेर नाथन फरार भएका थिए । नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो । उनलाई नेपालस्थित अमेरिकी दूतावासको पहलमा नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो ।
नाथनलाई लैजान युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि काठमाडौं आइसकेका थिए । तर, २७ भदौमा कोरियन एयरको जहाज चढिसकेपछि नाथनले आत्महत्या गर्ने धम्की दिए । त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन । त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भिरएन ११ जिडब्लू प्लेन चार्टर्ड गरेको हो ।
बिहीबार नाथनलाई अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै र्भयाङमा र्पुयाएर अमेरिकी मार्सल टोलीलाई बुझाएको थियो ।
नाथनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।