जनताको अपेक्षा अनुसारको काम गर्न मन्त्रीलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले १४औं त्रिवर्षीय योजना मुलुकको आधार वर्ष बन्न पुगेको बताउँदै अब विकासको गतिलाई तीव्रता दिने बेला आएको बताएका छन् । सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औँ बैठकलाई सम्बोधन गर्दै उनले विकासमा जनताको सहभागितालाई आत्मसात् गर्न मन्त्री र सरकारी अधिकारीलाई आग्रह गरे ।

संघीय सरकारका मन्त्री, प्रदेशका मुख्य मन्त्रीहरु तथा सरकारी अधिकारीहरु सहभागि उक्त बैठकमा प्रधानमन्त्री ओलीले लोकप्रिय र वितरणमुखीभन्दा दिगो विकास र परिणाममुखी काम गर्न निर्देशनसमेत दिए ।



बैठकमा राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक सूचक, चौधौँ योजनाका आर्थिक सामाजिक तथा भौतिक उपलब्धिहरु, मन्त्रालयगत खर्च, राष्ट्रिय गौरवका आयोजनाको प्रगति, भूकम्पपछिको पुनःनिर्माण र हाल देखिएका समस्याबारे जानकारी गराएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले अघिल्ला बैठकका निर्णयहरु नै कार्यान्वयन हुन नसकेकामा चिन्ता प्रकट गरे । त्रिचालिसौँ बैठकमा भएका छ वटा निर्णयमा दुईवटा मात्रै पूरा भएको र चवालिसौँ बैठकका आठ निर्णयमा दुई तथा पैँतालिसौँ बैठकका आठमा एउटा पनि निर्णय पूरा नहुनु दुःखद् कुरा भएको बताए ।

“के हामीले गलत निर्णय गर्‍यौँ, निर्णय ठीक गरेका छौँ भने कार्यान्वयन हुनुपर्छ, निर्णय गर्ने कार्यान्वयन नगर्ने, यो कुरा हुनै सक्दैन, अब त्यो स्थिति हुनु हुँदैन”, प्रधानमन्त्री ओलीले भने । अहिले देश खास परिस्थितिमाबाट अगाडि बढिरहेको र सरकारको काँधमा विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जनताको अपेक्षा अनुसारको काम गर्न मन्त्रीलाई आग्रह गरे ।

सम्बन्धित समाचार