असोज १० देखि दशैंका लागि नयाँ नोट,कहाँ-कहाँ साट्न पाइन्छ ?

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।



त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा पनि साट्न पाईन्छ ।

कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।

राष्ट्र बैंकले नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ । उपत्याकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

सेवाग्राहीले असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न सक्ने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सम्बन्धित समाचार